
सिमकोट – हिमाली जिल्ला हुम्लाको दुर्गम क्षेत्रको ताँजाकोट गाउँपालिकाले कोरोना परीक्षणका किट खरिद गरेको छ । जिल्लामा नभएको र प्रदेशसँग माग गर्दा नपाएपछि गाउँपालिका आफैले लामो प्रक्रिया अपनाएर किटहरु खरिद गरेको हो ।
भारत तथा देशका विभिन्न जिल्लाबाट आएका नागरिकहरुलाई क्वारेन्टीनमा राखिएको तर कोरोना परीक्षणको किट नभएपछि गाउँपालिका आफैले खरिद गर्नु परेको जनाएको छ ।
हाललाई गाउँपालिकाले खरिद गरेर ल्याएका कोरोना संक्रमण परीक्षणका किटहरुमा पाँच सय वटा पीसीआरका लागि भिटिएम र दुई सय किट आरडीटी रहेको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।
हाल गाउँपालिका ३३ जना भारत र १८१ जना देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु छ वटा क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरु सबैको परीक्षण जेठ ३० गते हुने बताइएको छ ।