
काठमाडौँ- रक्षामन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्व्यमा नेपाली सेनामार्फत चीनसँग ‘जिटुजी’ विधिबाट खरिद गरेका कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक सामग्रीमध्ये अब ७५० क्युबिक मिटर सामग्री मात्रै आउन बाँकी रहेको छ।
हालसम्म २२५०.९१ क्युबिक मिटर सामग्री आइसकेको छ। रक्षामन्त्रालयको स्रोतका अनुसार बाँकी रहेका ७५० क्युबिक सामग्री पनि कन्टेनरमा राखी चीनको गोञ्जाओ विमानस्थलबाट तातोपानी नाकातर्फ हिडाइएको छ।
गत वर्ष चैत्र १६ गते मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार स्वास्थ्य स्वास्थ्य सामग्रीका लागि पत्राचार गरिएका विभिन्न पाँच मुलुकमध्ये चीनसँग सम्झौता गरिएको थियो।
सम्झौता अनुसार सेनाले जेठ ३ गते सबैभन्दा पहिले स्थलमार्ग हुँदै १० कन्टेनर अर्थात २७० क्युबिक मिटर सामग्री नेपाल ल्याएको थियो।
त्यसपछि जेठ ५ गतेस्थलत मार्गबाटै पाँच कन्टेनर अर्थात १६८ क्युबिक मिटर सामग्री ल्याइएको थियो।
जेठ ७ गते हवाईमार्गबाट १५६ क्युबिक, ८ गते स्थलमार्गबाट २६७ क्युबिक मिटर, त्यसैदिन २०० क्युबिक मिटर, १५ गते स्थलमार्गबाट २५०.०१ क्युबिक मिटर सामग्री आएको थियो।
यस्तै जेठ १७ गते हवाईमार्गबाट १४८ क्युबिक मिटर, १८ गते स्थलमार्गबाट १७८ क्युबिक मिटर, २२ गते स्थालमार्गबाट २४१.२ क्युबिक मिटर र २९ गते स्थलमार्गबाटै ७३ क्युबिक मिटर, ३१ गते २९९.९ क्युबिक मिटर सामग्री आएको छ।
सेनाको समन्व्यमा रक्षा मन्त्रालयले गत वैशाख ७ गते चीनसँग सामाग्री खरिदका लागि सम्झौता सम्पन्न गरेको थियो।
उसले ६७ प्रकारका सामग्रीका लागि १ करोड ८४ लाख ४१ हजार सात सय ६ अमेरिकी डलरको खरिद सम्झौता गरेको थियो।