
बुटवल–अर्घाखाँचीको शितगंगामा आत्महत्या गरेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
शितगंगा नगरपालिका वडा नं. ५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका स्थानीय ४५ वर्षीय पुरुषको स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भएको हो।
आरडिटि रिपोर्ट पोजेटिभ आएपछि जेठ २५ गते स्वाव संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो।
मंगलबार राती आत्महत्या गरेका उनीसहित अर्घाखाँचीबाट प्राप्त भएका नमूना परीक्षणको क्रममा ४९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।
मृतक जेठ १० गते भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए। उनी क्वारेन्टिनमा बसेको मंगलवार २४ दिन पुगेको थियो। मंगलबार राती रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बुधबार बिहान शव देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले जानकारी दिए।
लामो समयसम्म रिपोर्ट नआएको र क्वारेन्टिनमा खानपान राम्रो नभएको, हेय एवं विभेद गरेका कारण मानसिक तनावमा आएर आत्महत्या गरेको अनुमान गरिएको छ। सोही क्वारेन्टिनमा उनीसँगै बस्ने अरु दुई जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ।
शव व्यवस्थापन गर्ने र आत्महत्या गर्नुको वास्तविक कारण पत्ता लगाउनका लागि सुरक्षाकर्मीहरु खटाइसकेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए।
यसअघि अर्घाखाँचीमा कोरोना भाइरसबाट संक्रमित एकजनाको ज्यान गएको थियो। बुधवार एकैदिन ४९ जना थप भएपछि अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १ सय ७ पुगेको छ।