
काठमाडौँ-सीमा विवादलाई लिएर नेपाल–भारत र भारत–चीनबीच तनाव बढेका बेला सत्तारुढ नेकपाको स्कूल विभागले छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)सँग राजनीतिक छलफलको आयोजना गर्नु अनुचित भएको भन्दै पार्टीकै केही प्रभावशाली नेताहरुले असन्तुष्टि जनाएका छन्।
नेकपाको स्कूल विभाग, सीपीसी र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटीको संयुक्त आयोजनामा शुक्रबार अपरान्ह चार बजे तय गरेको भिडियो छलफलको विरुद्धमा पार्टीका केही प्रभावशाली नेता उभिएका हुन्।
भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नेपालले आफ्नो नयाँ नक्सा प्रकाशन गर्दा,ती भूभागले संवैधानिक वैद्यता प्राप्त गर्नेक्रममा चीनले भूमिका खेलेको आरोप भारतीय अधिकारीहरुले लगाएका बेला र सीमा विवादलाई लिएर भारत–चीनका सैनिकबीच भिडन्त भइरहेका बेला चिनियाँ पार्टीसँग हतारमा भिडियो छलफल चलाउनु उपयुक्त नभएको ती नेताहरुको निष्कर्ष छ।
छलफलका लागि उपयुक्त समय नभएको भन्दै विरोध जनाउने मध्येका नेकपाका एक नेताले भने,‘नेपालको कुटनीति संवेदनशील मोडमा पुगेको छ। अतिक्रमित भूमि प्राप्तीलाई लिएर नेपालले सुरु गरेको लडाईँ टुंग्याउन अझै धेरै काम बाँकी छ। अर्कोतिर भारत र चीनबीच पनि तनाव बढेको छ। यस्तो बेला चीनसँग भर्चुल बैठक गर्ने उपयुक्त होइन। भित्र केही नभएपनि बाहिर विभिन्न आंकलन गरेर हल्ला गर्ने बढ्न सक्छन्। बैठक अनुचित भनेको होइन। समय अनुकुल भएन।’
ईश्वर पोखरेल नेतृत्वको नेकपाको स्कूल विभाग नेपालतर्फको आयोजक बनेको गोष्ठीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्वं नेता पोखरेललगायत १०० जना नेताहरु सामेल हुने कार्यक्रम छ। त्यसमा ३० जना केन्द्रका नेताहरु र बाँकी ७० जना विभिन्न प्रदेशका नेताहरु सामेल हुने छन्।
नेताहरूलाई सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्नेछन्।
त्यसका लागि स्कूल विभागले करिव दुई साता तयारी समेत गरेको बुझिएको छ। तर नेकपाकै विदेश विभागलाई यो समग्र तयारी बारे कुनै जानकारी नभएको पाइएको छ।
विभागका उप्रप्रमुख रहेका नेकपाका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आफ्नो विभागलाई गोष्ठी सम्बन्धी कुनै जानकारी नभएको बताए। उनले देशसञ्चारलाई भने,‘ गोष्ठी आयोजना गर्ने समय उपयुक्त हो या होइन भन्नेबारे छलफल नै हुन पाएन। यसबारे विदेश विभागलाई कुनै जानकारी छैन।’
स्रोतका अनुसार विदेश विभागका प्रमुख एवं पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई बिहीबार साँझ पाँच बजे मात्रै गोष्टीबारे जानकारी गराइएको थियो। नेता नेपालले त्यसबारे कुनै प्रतिक्रिया नदिएको र आज उनी सामेल हुने सम्भावना कम रहेको स्रोतको भनाई छ।
नेकपाको विदेश विभागको समन्व्यमा गत वर्ष यस्तै प्रकृतिको कार्यशाला नेपालमा सम्पन्न भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनु भन्दा केही दिन अघि उक्त कार्याशाला सम्पन्न भएको थियो।
कार्यशालामा पार्टी र देश सञ्चालन, भ्रष्टाचार नियन्त्रणलगायत विषयमा छलफल हुने स्कूल विभागका प्रमुख ईश्वर पोखरेलले बताएका थिए। उनले भनेका थिए,‘यसलाई दुवै देशका कम्युनिष्ट पार्टीले सामसामयीक र आगामी बाटोबारे छलफल र अनुभव आदनप्रदान गर्ने महत्वपूर्ण कार्यथलोकारुपमा लिएका छौँ।’