
लाहोर- पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद हाफिजले आफूमा कोरोना संक्रमण नभएको बताएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड-पिसिबीले गराएको परीक्षणमा पोजेटिभ देखिएपछि हाफिज नपत्याएर आफै परीक्षण गर्न निजी क्लिनिकमा पुगेका थिए।
हाफिजले आफूमा पीसिआर नेगेटिभ भएको रिपोर्ट ट्वीटरमा पोष्ट गरेका छन्। इङ्ल्यान्ड भ्रमणका लागि जाने खेलाडीको तय गर्न पीसिबीले २९ जना खेलाडीको पीसिआर टेस्ट गराएको थियो जसमा १० जनाको रिपोर्ट पोजेटिभ आएको थियो।
पाकिस्तान इङ्ल्यान्डसँगको शृंखलाका लागि जुन २८ तारिखमा जाँदै छ। इङ्ल्यान्ड पुगेर १४ दिनको क्वारेन्टिन बसेपछि पाकिस्तानी टोलीले अभ्यास गर्ने र शृंखला खेल्ने तालिका छ।
हाफिज र पीसिबीले गराएको दुवै टेस्ट लाहोरमा थियो तर फरक ल्याबमा। पीसिबीले सौकत खानुम ल्याबोरेटोरी र हाफिजले चुग्ती ल्याबोरेटोरीमा परीक्षण गराएका थिए।
पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका खेलाडीको अर्को चरणमा पनि परीक्षण हुने र त्यसपछि मात्र खेल्न जाने खेलाडीको तय हुने पीसिबीले जनाएको छ।
पोजेटिभ रिपोर्ट आएका खेलाडीको हकमा अब हुने परीक्षणमा नेगेटिभ आए त्यसको ४८ घण्टाभित्र पुन अर्को परीक्षण हुने र त्यसमा नेगेटिभ आए मात्र उनीहरु यात्रा गर्न योग्य हुनेछन्। हैदर अली, सदाब खान , ह्यारिस रौफलगायत खेलाडीलाई पनि कोरोना संक्रमण छ।