
सिमकोट – सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएको सिमकोट खार्पु खण्डको सडक अवरुद्ध भएको छ ।
भारी वर्षाको कारण आधा दर्जन स्थानमा पहिरो गएर सडकमा क्षति पुगेपछि यातायात सेवा अवरुद्ध भएको हो ।
वर्षाको कारण सडक पहिरोले पुरिएको त कतै भाँसिएर सडक नै नरहेकोले सिमकोट खार्पु खण्डको सडकमा गाडी सञ्चालन गर्न नसकिएको खार्पुनाथ यातायात प्रालिका गाडी चालक सिंगम भण्डारीले बताए ।
११ किलोमिटर दूरी भएको सो खण्डको आधा दर्जन ठाउँमा पहिरो खसेको छ । सडक निर्माण गर्ने सिमकोट गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र पुर्वाधार विकास कार्यालयले मर्मतका लागि चासो नदेखाएको यातायात व्यवसायीको गुनासो रहेको छ ।
यता पुर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले अवरुद्ध सडक खुलाउनका लागि कामदार लगाएको बताए । तर अवरुद्ध भएको सडकलाई कामदारले खुलाउन नसक्ने जनाउँदै यातायात व्यवसायीले मेशिन प्रयोग गर्न माग गरेका छन् ।
उक्त क्षेत्रमा हेलिकोप्टरबाट ढुवानी गरिएका आधा दर्जन बोलेरो जीप र ट्याक्टर चल्दै आएका थिए । यी सवारी साधनहरुले यात्रु तथा अन्य सामानहरु ढुवानी गर्दै आएका थिए ।