
सिमकोट-कर्णाली प्रदेशमा शनिवार सात जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै जाँदा निको हुनेहरूको सख्यामा पनि वृद्धि भएको छ।
शनिबारसम्म करिब एक हजार जना कोरोना मुक्त भएर घर फिर्ता भएका छन् । गत जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सक्रमण सुरु भएको थियो भने जेठ २३ गतेदेखि निको भएकाहरू घर फर्कन थालेका थिए।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिबारसम्म रोगबाट निको भएर घर फर्कनेहरूको संख्या ९३४ पुगेको छ । रोगबाट निको हुनेको सख्या पनि दिनदिनै बढेको छ।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शनिबार मात्रै २१४ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, दैलेखकै डुङ्गेश्वर आइसोलेसनबाट ६३ जना, दैलेख अस्पतालबाट नौ जना, सुर्खेतका विभिन्न आइसोलेशनबाट आठ जना र रुकुम पश्चिम अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी कर्णाली प्रदेशमा शनिबार थप सात जना कोरोना सक्रमित थप भएका छन् । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना सक्रमण पुष्टि भएको हो।
संक्रमित सातै जना सुर्खेत जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सात जनामा १५ महिने शिशुदेखि ४७ वर्ष उमेर समूहका छन्। ती सबै पञ्चपुरी नगरपालिकाका हुन् ।
थप सात जनासहित कर्णालीमा कुल कोरोना सङ्क्रमितको संख्या एक हजार ४४० पुगेको छ।