
सिमकोट– स्याउको व्यवसायिक रुपमा खेती गर्ने किसानहरुलाई फ्रुट टिपर वितरण गरिएको छ । धेरै बोट भएका किसानलाई स्याउ पाकेपछि सहज किसिमले टिप्नका लागि यी सामान वितरण गरिएका हुन् ।
तीन सय बोटको स्याउ लगाएका किसान छिरिङ लामाले फ्रुट टिपर पाएपछि स्याउलाई सुरक्षित रुपमा निकाल्न सकिने बताए ।
अहिलेसम्म पाकेका स्याउका रुखमा चढेर हातैले निकाल्ने गरिएकोमा अब भने सो साधनबाट स्याउ निकाल्न सहज हुने छ ।
असोज कार्तिकमा बगैँचामा पाकेका स्याउ निकाल्न किसानलाई निक्कै शास्ती परेको देखेर नै यी फ्रुट टिपरको व्यवस्था गरिएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए ।
सो सामग्रीको किसानहरुले माग गरे बमोजिम निशुल्क रुपमा गाउँपालिकाले वितरण गरेको हो । तीस बोट भन्दा बढी स्याउको बगैँचा बनाउने ३५ जना किसानहरुलाई यी फ्रुट टिपर वितरण गरिएको उनले बताए ।
किसानले पाकेको स्याउ बचाउँन निक्कै कठिन भैरहेको बेला यो साधनबाट स्याउ निकाल्दा सहज हुने गाउँपालिकाले विश्वास लिएको छ । हातले फलेको बोटबाट स्याउ निकाल्दा खस्ने, चोट लाग्ने भएर स्याउ कुहिरहेको बेला अब भने स्याउलाई सुरक्षित रुपमा निकाल्न सकिने छ ।
यी फ्रुट टिपर हुम्ला जिल्लामा पहिलो पटक ल्याइएका हुन्र।