
पछिल्लो समय रुसका राष्ट्रपति भ्लादिमिर पुटिन थप बलियो हुँदै गएको देखिएको छ । भने अर्को तर्फ रुसको युरोप र अमेरिकासँगको सम्बन्ध कमजोर बन्दै गएको छ ।
पुटिन चौथो कार्यकालाका लागि ठूलो मतान्तरले राष्ट्रपतिमा विजयी भएको धेरै दिन भएको छैन । टाइम म्यागजिनले उनलाई अहिले र भविष्यको एकमात्र राजाको रुपमा प्रस्तुत गर्दै फिचर न्युज नै प्रकाशित गरेको छ ।
तर विश्वकप फुटबलको तयारीमा रहेको रुस अहिले अमेरिका तथा युरोपेली देशले गरिरहेको आफ्ना कुटनीतिज्ञको निष्काशनको मारमा छ ।
यसको सुरुवात यो महिनाको सुरुमा रुसका पूर्व जासुस र उनकी छोरीलाई विष खुवाएर मार्ने प्रयास भएपछि भएको हो । यसमा रुसकै संलग्नता रहेको बेलायतको आरोप छ भने रुसले अस्वीकार गर्दै आएको छ ।
सबैभन्दा पहिले बेलायतले २३ रुसी कुटनीतिज्ञलाई निष्काशन ग¥यो । त्यसको जवाफ स्वरुप रुसले पनि २३ बेलायती कुटनीतिज्ञलाई देश छोड्न भन्यो ।
पछिल्लो पटक आएर अमेरिकाले पनि रुसी कुटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व जासुसलाई विष खुवाएको मामिलामै ६० रुसी कुटनीतिज्ञलाई निष्काशित गर्न आदेश दिएका छन् ।
यो शीत युद्धपछि अमेरिकाले रुसमाथि गरेको ठूलो कारवाही हो । यसअघि शीत युद्धको समयमा सन् १९८६ मा तत्कालीन राष्ट्रपछि रोनाल्ड रेगनले ८० रुसी कुटनीतिज्ञलाई निष्काशित गरेका थिए ।
अमेरिकाले मात्रै होइन जर्मनीले पनि चार रुसी कुमटनीतिज्ञलाई निष्काशित गरेको छ । अहिलेसम्म बेलायत, अमेरिका, जर्मनीसहित २० देशले १०० भन्दा बढी रुसी कुटनीतिज्ञलाई निष्काशित गरेका छन् ।
रुसीको जवाफ
आफ्ना कुटनीतिज्ञलाई निष्काशन गरेपछि रुसले पनि बेलायतका कुटनीतिज्ञलाई निष्काशन गरेको थियो । अब उसले अमेरिकासहितका अरु देशसँग पनि त्यहि प्रतिक्रियाको बाटो अपनाउने सम्भावना छ ।
गएको हप्ता युरोपेली युनियनका नेताबिच पूर्व रुसी जासुसलाई विष खुवाउने मामिलामा रुसको संलग्ता रहेको कुरामा एकमत भएका थिए । तर रुसले भने आरोप अस्वीकार गर्दै आएको छ ।
पछिल्लो पटक रुस र पश्चिमा देशबिच गम्भीर कुटनीतिक समस्या उत्पन्न भएको छ । यसको समाधान कसरी हुन्छ अहिले नै थाहा भएको छैन । मात्रै देखिएको छ, कारवाहीको लहर ।
कसले कति रुसी कुटनीतिज्ञलाई निष्काशन गरे ?
अहिलेसम्म अमेरिकाले ६०, बेलायतले २३, फ्रान्स, जर्मनी र पोल्याण्डले समान चार चार, चेक गणतन्त्र र लिथुवानियाले समान तीन तीन तथा नेदरल्याण्डस, इटाली र स्पेनले समान दुई दुई रुसी कुटनीतिज्ञलाई निष्काशित गरेका छन् ।
यस्तै युक्रेनले १३, क्यानडाले चार, अल्बानिया र अस्ट्रेलियाले दुई दुई तथा मेसेडोनिया, इस्टोनिया, क्रोएसिया, फिनल्याण्ड, हंगेरी, लात्भिया, रोमानिया र स्वीडेनले एक एक रुसी कुटनीतिज्ञलाई निष्काशन गरेका छन् ।