
सिमकोट-कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय नाघेको छ।
सोमवार मात्रै जुम्लामा एक, जाजरकोटमा तीन र सुर्खेतमा १४ जना गरी कुल १८ जना संक्रमित थपिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५१६ जना पुगेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा परिक्षण गरिएका मध्ये १८ जनामा कोरोना संक्रमित पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संक्रमित सुर्खेतका १४ जनामध्ये भेरीगंगा नगरपालिका वडा नं. ३, ४, ११ र बराहताल गाउँपालिका वडा नं. ४, ७ र १० मा एकएक छन्।
त्यस्तै बराहतालकै वडा नं. ५ मा सात जना र वडा नखुलाइएका एक जना, जाजरकोटको भेरी गनरपालिकाका तीनजना र जुम्लाको सिंजा गाउँपालिका वडा नं. ६ का एक जना छन्। मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।
त्यस्तै सोमवार नै सुर्खेतको पञ्चपुरीबाट सात जना, गुर्भाकोटबाट पाँचजना, प्रदेश अस्पतालबाट तीन जना र जाजरकोटको बारेकोट आइसोलेसन सेन्टरबाट एक जना गरी कुल १६ जना संक्रमणमुक्त भएका छन्। योसँगै कर्णालीमा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार २३७ पुगेको मन्त्रालयले जनाएको छ ।