कस्तो छ विदेशबाट फर्केकाहरुको होटल क्वारेन्टिन अनुभव? (भिडियोसहित)

कस्तो छ विदेशबाट फर्केकाहरुको होटल क्वारेन्टिन अनुभव? (भिडियोसहित)
+
-

काठमाडौँ– सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न जेठ ३२ देखि असार ११ गतेसम्मको कार्ययोजना तयार गर्‍यो। त्यसपछि पनि उद्दार कार्य निरन्तर चलिरहेको छ।   सरकारको कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्तिले होटल या सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने थियो।

सोही कार्ययोजना अनुसार नै असार १६ गते इटालीबाट उद्धार गरिएका करिब २० जनाको टोली काठमाडाैँको हात्तिगौडास्थित सब्रीना होटलमा क्वारेन्टिनमा बस्दै आएको छ। उनीहरुले स्थानीय तहको क्वारेन्टिनभन्दा होटल बढी सुरक्षित हुने भएकाले आफूहरु होटलमा बस्न आएको बताए।

उक्त टोलीका सुरेश गिरी स्थानीय स्तरमा बनाएका क्वारेन्टिनहरुमा निकै लापरवाही हुने तथा कोरोना संक्रमण हुने जोखिम बढी भएकाले होटल क्वारेन्टिनमा बस्न उचित लागेको बताउँछन्।

उनले होटलमा सुरक्षाका उपाय अपनाउनुका साथै खाने, बस्ने तथा कर्मचारीहरुको व्यवहार पनि निकै राम्रो भएको बताए। उनले भने, ‘होटलमा बस्दा हामीलाई आफ्नो घरको जस्तो अनुभव भएको छ। खानाहरु पनि एकदमै राम्रो छ। स्टाफहरुले गर्ने व्यवहार पनि राम्रो छ। हामी विदेशबाट आएका भएपनि हामीलाई भेदभाव गरिएको छैन।’

सुरेश गिरी।

उनको हवाई टिकट, होटलको व्यवस्था तथा खाने बस्ने खर्च पनि कम्पनीले व्यहाेरेको छ। उनी इटालीको क्रुजमा काम गर्छन्।

उनलाई इटालीमा हुँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो। आफूलाई कोरोना लागेको थाहा पाउँदा उनी निकै आतिनुका साथै डराए पनि। तर उनले अरुलाई निको भएको सुन्दा आफूलाई आत्मबल बलियो बनाउन सजिलो भएको सुनाए।

‘सुरुमा डर लागेपनि मलाई केही हुन्न भन्ने आत्मबल बलियो बनाएँ’, उनले भने, ‘कोरोना भनेको त्यस्तो केही होइन भनेर तातोपानी खाने, पोसिलो खानेकुरा खाने, मेडिटेसन गर्ने गरेको थिएँ।’

उनी इटालीमा आइसाेलेसन बस्दा कुनै समस्या नभएको र राम्रो वातावरण भएको बताउँछन्। उनी इटालीमा क्वारेन्टिन तथा आइसाेलेसनमा बसेर पुनःचेक गराउँदा रिपाेर्ट नेगेटिभ आएपछि स्वदेश फर्किएका हुन्।

इटाली जस्ताे कोरोनाको अत्यन्तै जाेखिम भएको ठाउँमा आफूहरु तीन–चार महिनादेखि सरकारले उद्धार गर्ने आशामा पर्खिरहेका भएपनि अन्य देशले आफ्ना नागरिक लगेको देख्दा आफूहरुलाई अभिभावकविहीन जस्ताे अनुभव भएको उनको भनाइ छ।

‘सरकारले उद्धार गर्ने आशामा तीन–चार महिना पर्खिरहेका थियौँ’, उनले भने, ‘सरकारको यस्तो व्यवहारले आमाबुबा नभएका टुहुरा सन्तान जस्ता भएका थियौँ। त्यसमा कोरोनाको कहर एकातिर थियो भने अर्कोतिर आफूसँग काम पनि थिएन। जसले गर्दा हामीलाई मानसिक तनाव पनि सुरु भइरहेको थियो।’

ढिलै भएपनि सरकारले उद्धार गरेकोमा उनी दंग छन्। अब कोरोनाको जोखिम कम भएपछि नेपालमा नै केही व्यवसाय सुरु गर्ने उनले सोच बनाएका छन्।

सोही टोलीमा इटालीबाट नेपाल आएकी मना लामा पनि सब्रीना होटलमा क्वारेन्टिनमा बसेकी छन्। उनले आफ्नो देश आउन पाउँदा निकै खुसी लागेको बताइन्। कोरोनाको जोखिम कम भएपछि पुनःविदेश जाने उनको योजना छ।

मना लामा।

नेपालको राजनीतिक अवस्था डामाडोल भएको अवस्थामा जनताका लागि सरकारले केही गर्छ भन्नेमा उनलाई विश्वास लागेको छैन। त्यसैले उनले विदेश जाने बाटो निश्चित भएको बताइन्।

‘नेपालको राजनीति पनि त्यस्तै छ। यस्तो अवस्थामा सरकारले हाम्रा लागि रोजगारी सिर्जना गर्ला जस्तो लाग्दैन। हाम्रो कमाइखाने भाँडो विदेश नै हो। नेपालमा काम पाएपनि तलब राम्रो हुन्न। त्यसका लागि विदेश नै जानुपर्छ। त्यहाँ राम्रो काम पनि छ। तलब पनि राम्रो छ। सबै राम्रो भएपछि विदेश नै जाने हो’, उनले भनिन्।

इटालीमा पानीजहाजमा काम गर्ने उनलाई कम्पनीले तीन महिनादेखि तलब दिएको थिएन। खान बस्न भने कम्पनीले नै व्यवस्था गरेको उनको भनाइ छ।

तर जहाजमा क्रु मेम्बर नेपालीहरु धेरै नभएकाले स्वदेश फर्कन भने उनलाई समस्या भयो। नेपाल आउन उनले कम्पनीसँग लडाई नै गर्नुपर्‍यो। लामो संर्घषपछि कम्पनीकै खर्चमा नेपाल आउन सफल भइन्।

‘हामीलाई कम्पनीले सजिलो गरी नेपाल पठाएको होइन’, उनले भनिन्, ‘सजिलो गरी पठाउने भए हामीलाई तीन महिना अघि नै पठाउथ्यो। हामीले नेपाल आउन कम्पनीसँग लडाइ गर्‍यौँ। त्यसपछि मात्र कम्पनीले सम्पूर्ण खर्च व्यहाेरेको हो।’

कम्पनीले पठाए पनि कतिपय नेपाली आउन चाहेर पनि खर्च नभएका कारण विदेशमा नै भएको उनले बताइन्। त्यस्ता नेपालीलाई सरकारले आफ्नो खर्चमा स्वदेश ल्याउनु पर्ने उनको भनाइ छ।

के भन्छन् होटलका सञ्चालक?


सब्रीना होटलका सञ्चालक निराजन थापाले क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगरेको बताए। क्वारेन्टिनका लागि होटल छनोट भएदेखि सुरक्षाको व्यवस्था गरेको उनले जानकारी दिए।

‘हामीले होटलको मुख्य ढोकामा नै स्यानिटाइजर राखेका छौँ। मास्क, ग्लब्सको पनि व्यवस्था गरेका छौँ। स्टाफहरुले पनि मास्क, ग्लब्स प्रयोग गरी सामाजिक दूरी पनि कायम गरेर नै काम गरिरहेका छन्’, उनले भने।

क्वारेन्टिनमा बसेकाहरुले पनि सुरक्षाका उपाय अपनाएको उनले बताए।

‘हामीले क्वारेन्टिनमा बसेकाहरुलाई आफै बेडसिट चेन्ज गर्न आग्रह गर्‍यौँ र उहाँहरुले हाम्रो आग्रहलाई मान्नुभएको छ’, उनले भने, ‘त्यसैले उहाँहरुले रुमको बेडसिट आफै चेन्ज गर्नुहुन्छ र हामीले बुफेटमा खाना राख्छौँ। उहाँहरुले आफै खाना हालेर खानुहुन्छ। त्यसपछि खाएका भाँडाहरु पनि आफै धुनुहुन्छ। जसले गर्दा सामाजिक दूरी कायम भएको छ।’

उनले लकडाउनको अविधमा बन्द रहेपनि असार १ गतेदेखि होटल सञ्चालनमा ल्याएको बताए। अहिलेको अवस्थामा पैसा कमाउनेभन्दा पनि सरकारसँग मिलेर सेवाको उद्देश्य लिएर काम गरिरहेको थापाको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?