
अमेरिकका केही प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याकरको निशानामा परेका छन् । अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको ट्वीटर एकाउन्ट ह्याक भएको हो ।
बिटकोइन घोटालाका लागि ह्याकरले उनीहरुको ट्वीटर एकाउन्ट निकाशाना बनाएका हुन् । ह्याकरले अर्बपतिका ट्वीटर एकाउन्ट ह्याक गरी त्यसमा बिटकोइन मार्फत डोनेट गर्न अपिल गरिएका ट्वीट गरेका हुन् ।
पूर्व राष्ट्रपति बाराक ओबामा, आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन तथा र्यापर कान्य वेष्टको आधिकारिक एकाउन्ट पनि ह्याक भएको हो ।
ती एकाउन्टबाट पनि बिटकाइन डोनेट गर्न अपिल गरिएका ट्वीट ह्याकरले गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
बिल गेट्सको एकाउन्टबाट ट्वीट भएको छ, ‘सबैले यो समुदायलाई केही दिन भनेका छन्, र यो सही समय हो । तपाईँहरु एक हजार डलर पठाउनुस्, म दुई हजार डलर पठाउँछु ।’
यी ट्वीटहरु पोस्ट भएको केही मिनेटमै डिलिट गरिएका छन् ।
ट्वीटरले उत्कृष्ट प्रयास गरी धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको जनाएको छ।
ह्याकरका कारण पासवर्ड परिवर्तनको प्रयास पनि असफल भइरहेको खबर छ। ट्वीटरले यसबारे अनुसन्धान भइरहेको र चाँडै नै वक्तव्य जारी गर्ने उल्लेख गरेको छ।
We are aware of a security incident impacting accounts on Twitter. We are investigating and taking steps to fix it. We will update everyone shortly.
— Twitter Support (@TwitterSupport) July 15, 2020
माइक ब्लुमबर्ग, किम कार्डासियन तथा युबर र एप्पलसहितका एकाउन्ट पनि ह्याकरको निशानामा आएका हुन् ।
बिल गेट्सका प्रवक्ताले समाचार संस्था एपीसँग भनेका छन्, ‘ट्वीटरले सामना गरिरहेको ठूलो समस्याको एक पक्षका रुपमा यो देखिएको छ ।’