
सिमकोट –सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिँडेर सिमकोट आइपुगेका छन् ।
गाउँमा सम्पन्न भएका योजनाको भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो न्यालु लेक पार गरेर लिमीबासी सिमकोट आइपुगेका हुन् ।
लिमी हल्जी गाउँका कुन्जोक फुर्वु तामाङले सिँचाइको काम सम्पन्न भएपछि भुक्तानी लिन आएको बताए ।
स्थानीय उपभोक्ता समितिबाट सम्पन्न भएको सिँचाइको कामको बजेट लिएर गाउँमा बाँढ्नु पर्नेछ । उनीसहित उपभोक्ता समितिका अन्य तीन जना पनि सोही योजनाको भुक्तानीका लागि गाउँलेले खटाएको थियो ।
त्यसैगरि तीन गाउँको तटबन्धका लागि पनि अर्को दुई समस्यको टोली भुक्नाती लिन सदरमुकाम सिमकोट आई पुगेको छ । स्थानीय फुर्वु लामाले आबश्यक कागजात सबै भुक्तानीका लागि पेश गरि सकिएको र अब चेकबाट रकम उपभोक्ता समितिको खातामा जम्मा हुने काम बाँकी रहेको र जम्मा हुने बित्तिकै रकम झिकेर गाउँतर्फ लाग्ने बताए ।
वडा अध्यक्ष पाल्जोर तामाङले गाउँमा सिंहदरबार आई पुगेको भएपनि लिमीबासीले अहिले पछि चार दिन पैदल हिँडेर योजनाको रकम बुझनु पर्ने बाध्यता रहेको बताए ।
गाउँपालिका, प्रदेश सरकार गैससद्धारा लिमीमा नौ वटा योजनाको निर्माण भएका छन् । हालसम्मकै सबै भन्दा बढी योजनाहरु लिमीमा परेका छन् । ती योजनाका लागि गाउँले छुट्टछुट्टै उपभोक्ता समिति गठन गरेर निर्माण कार्य भएको थियो ।
यसका लागि सिमकोटमा भुक्तानी लिन वडा अध्यक्षसहित ११ जनाको टोली सिमकोट आई पुगेको छ ।