
काठमाडौँ – पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुला छैन । तर साउनको पहिलो सामबार केही तिर्थालुहरु पशुपति परिषरमा बाहिरैबाट दर्शन तथा पूजाका लागि पुगेका छन् ।
मुल मन्दिर खुला नभए पनि पशुपति परिषरका अरु मठ–मन्दिरमा थोरै संख्यामा दर्शनार्थीहरुले पूजा गरेका छन् ।
सामान्य अवस्थामा पशुपति मन्दिरमा साउने सोमबार झण्डै एक लाख दर्शनार्थी पुग्ने गर्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा मठ मन्दिर पनि बन्द छन् ।
पशुपतिमा नित्य पूजा मात्रै हुँदै आएको छ । भिड हुने गरी मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको पहिलो सोमबारका लागि विशेष व्यवस्था नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । कोषका प्रवक्ता भोला सिटौलाका अनुसार साउने सोमबार पनि नित्य पूजा मात्रै हुने र दर्शनार्थीका लागि खुला गरिएको छैन ।
यो वर्षको पहिलो साउने सोमबार औँसी पनि परेकाले थप विशेष महत्व छ । सोही कारण केही दर्शनार्थी सोमबार बिहान पशुपति परिषरमा पुगेका हुन् ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले पहिलो साउने सोमबारमा पशुपति क्षेत्रको अवस्था केही तस्बिर समेट्ने प्रयास गरेकी छन् ।