
सिमकोट-जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँ पहिरोको उच्च जोखिममा रहेपछि सिंगो गाउँ पालमुनि बस्नु परेको छ।
वर्षेनि रुपमा वर्षायाम लागेपछि डर त्रासमा बस्नु परि रहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरो जान थालेपछि सुरक्षित बासको लागि पालमुनी बस्नु परेको हो।
ताँजाकोट गाउँपालिका वडा ३ की सदस्य औकला सार्कीले गाउँको वरीपोरी पहिरो जानथालेपछि सिंगो गाउँबासी नै पालमुनि बसेको बताइन्।सदस्य सार्कीले वडा नम्बर ३ को उतिस्यानी गाउँको वरिपोरी पहिरो जान थालेपछि गाउँलेको सुरक्षित बास बस्नका लागि गाउँ भन्दा तलको चौरमा पाल हालेर बस्नु परेको हो।
दैनिक पानी लगातार पर्ने भएको कारण २८ घरधुरीका गाउँले डर र त्रासकाबिच बसी रहेको बताउदै उनले सुरक्षित बासको ब्यबस्था नभए कुनै दिन गाउँ सामुहिक चिहान बन्ने बताइन्। गाउँपालिका जाँदा पालको ब्यबस्था गरिएपछि बस्न केही सहज भएको छ।
सोही गाउँकी अर्की महिला धनमति सार्कीले पालिकाले पाल दिएर तत्कालका लागि बासको ब्यबस्था भएको बताइन्। पानी पर्दा पालमा पनि भिजेर बस्नु पर्ने अबस्था भएपनि पहिरोको जोखिमबाट भने गाउँले सुरक्षित भएकी छिन्।
एक घर भत्किएको र गाउँको वरिपोरी पहिरो जान थालेपछि गाउँ बस्न डराएको अबस्था थियो। उनका अनुसार गाउँमा पालो हालेर पहिरो गए सुचना दिनका लागि पहरा बस्न गाउँलेले सुरु गरेका छन्।
गाउँपालिका अध्यक्ष बाग्दल मल्लले तत्काल गाउँपालिकासंग अन्य कुनै उपाय नभएपनि पाल दिएर सुरक्षित स्थानमा बस्नका लागि ब्यबस्था गरेको बताए। पालमा बसेर जनताहरु केही सुरक्षित भएपनि यो दिर्घकालिन समस्या समधानको उपाय भने नभएको होइन।
उनले सो गाउँको बस्ती ब्यबस्था गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले पन्द्र लाख बजेटको ब्यबस्था गरेपनि सो खर्च हुन नसकेको बताए।अध्यक्ष मल्लले गाउँमा पहिरो जान थालेपछि उक्त समस्यालाई लिएर कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग कुरा गर्दा पनि कुनै सुनुवाई हुन नसेको बताए।
पछि समस्या आए हेलिकोप्टरबाट उद्धार गर्नुको कुनै तुक नभएको बताउदै अध्यक्ष मल्ले प्रदेश पूर्ण रुपमा जनता सुरक्षाका लागि बिमुख रहेको गुनासो गरे। गाउँमा घर भत्कन थालेपछि केही दिन अगाडि वडा सदस्यको नेतृत्वमा २२ जना महिलाहरु मिलेर ताँजाकोट गाउँपालिकामा सुरक्षित बासको ब्यबस्थाका लागि डेलिगेशन जानु भएको हो।