काठमाडौँ– साउनको पहिलो सोमबार, झम झम झरी परिरहेको थियो। गीता बराइली दुईजना साथी बोकेर पशुपतिनाथको दर्शन गर्न आइपुगिन्। मध्य दिनमा लपक्कै झिजेर पशुपति पुगेकी बराइली महादेवको व्रत बसेकी छन्।
विगत ५ वर्षदेखि तीज र साउनमा नियमित पशुपति दर्शनको लागि आएकी रसाइलीले यो वर्ष पशुपतिको दर्शन गर्न पाइनन्। कोरोना भाइरस महामारीको कारण गरिएको लकडाउन पूर्ण रुपमा खुलेको छैन।
त्यो भन्दा पनि महत्वपूर्ण कुरा यो वर्ष कोरोना भाईरस संक्रमणको जोखिमलाई ख्यालमा राखेर प्रसिद्ध मन्दिरहरुको गेट खोलिएको छैन। विश्वभरका हिन्दु र शिवभक्तको आस्थाको केन्द्र पशुपतिनाथको ढोका पनि यो वर्ष खोलिएको छैन।
सामान्य अवस्था हुँदो हो त पशुपतिमा दैनिक १ लाख हाराहारीमा दर्शनार्थी पुग्थे। तर यो वर्ष पशुपति बन्द छ।
यो वर्ष साउनको पहिलो सोमबार पशुपति नाथको द्वार खुल्दैन भन्ने कुरा रसाइलीलाई थाहा नभएको हैन, तर पनि झोलामा पूजा सामान हालेर रसाइली खुरु खुरु मन्दिर लागिन्। ‘बन्द थियो भन्ने थाहा थियो, तर खोलिहाल्छन् कि जस्तो लागेर आएको,’ रसाइली भन्छिन्, ‘भगवानको दैलोमा आइयो, गेटबाटै पूजा गरियो अब भगवानले देखिहाल्नुहुन्छ भैगो नि।’
स्वच्छ मन भएपछि भनेको कुरा पुर्याउँछन् भन्ने विश्वास छ। गरिराखेको परम्परालाई कसरी छोड्नु जस्तो भयो रसाइलीलाई त्यसैले मुखमा मास्क लागएर बाहिरबाटै भएपनि ढोग्ने भन्दै उनी आइपुगिन्।
पशुपतिको पश्चिम गेट आज रंगीचङ्गी थियो । बन्द गेटको सानो प्वालहरुबाट पशुपति दर्शन गर्न आउँनेहरु चिहाउँदै थिए। झम झम वर्षा हुँदा पनि छाता ओडेर, कोही भिजेर पनि पशुपतिको आराधना गरिरहेका थिए।
गेटको दाँया र बाँया भागमा भक्तजनले पूजा र आराधनाका लागि सल्काइएका बत्ति र धुपहरु थिए। पशुपति दर्शन गर्न आएका भक्तजनहरुजस्तै निथ्रुक्क भिजेका, बल्दा बल्दै आधामा रोकिएका। भगवानलाई चढाउन ल्याइएको फूल अनि पूजासामान पनि पशुपतिको गेटमा असरल्ल देखिन्थ्यो।
देशमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढिरहेको छ। सामाजिक दुरी कायम गरी समूहमा बस्न नहुने समयमा पनि पशुपतिको गेटमा दर्शनार्थीको घुँइचो थियो। यस्तो जोखिम समयमा रोग लाग्ला भन्ने त्रास उनीहरुलाई नभएको होइन। तर भगवानको दैलोमा नआइ उनीहरुको मनले मानेन।
राधिका न्यौपानेको घर गौरीघाट खरीबोटमा छ। पशुपती आइपुग्न उनलाई धेरै समय लाग्दैन। कोरोना भाइरस संक्रमणको त्रास उनलाई नभएको होइन। तर भन्छिन्, ‘मनले नै मानेन ।’
उनले कयौँ वर्षदेखि पशुपति देखेकी छन्, तर यो वर्षको जस्तो कहिले पनि भएन। एक मनले ढोका खोल्दिएको भए पनि हुन्थ्यो जस्तो लाग्छ, अर्को मनले फेरी हाम्रै स्वास्थ्यको लागि यो सबै गरेको हुन् जस्तो लाग्छ।
उनले भनिन्, ‘परिस्थिति यस्तो छ, हाम्रै लागि गरेका हुन्। मन सन्तोक पार्नको लागि ढोकाबाटै पूजा गर्यौँ।’