पशुपति मन्दिरको पश्चिम गेट अगाडि मानिसहरुको घुँइचो छ, हातमा फूल अनि धुप लिएका दर्शनार्थीहरु बन्द गेटको अगाडि आँखा चिम्लेर आराधना गरिरहेका छन्। यी भक्तहरुको क्रियाकपाल नियाल्दै बाटोपारि बसिरहेकी छन् पम्फा खड्का। उनको स्थायी घर रामेछाप हो यहाँ जयबागेश्वरी बस्छिन्। घरमा बुढाबुढी अनि पाँच सन्तान छन्।
उनीहरु कमाइ गरी छोराछोरीलाई पाल्ने सपना बोकेर काठमाडौँ आएका थिए। ठीक ठाक चलिरहेकै थियो तर बिचमा कोरोना आइदियो। दुई तीन वर्ष भयो उनले फूल पसल राखेको तर अहिले भक्तजनहरु आएकै छैनन्, व्यापार शून्य। ‘मन्दिर भित्र जान दिएकै छैन। घरमा पूजा गर्न लैजानुहुन्छ।’ कोरोना संक्रमण होला भनेर नझस्किएको हैन तर उनी भन्छिन्, ‘के गर्ने त अब ? कोरोना लाग्छ भनेर बालबच्चाको पेट खाली राख्न भएन। घरबेटीले भाडा लिन्न पनि भन्दैन।’
उनको श्रीमान पनि यही पसलमा काम गर्छन्, व्यापार राम्रो नभए पनि पैसाको मुख देख्न पाइन्छ भनेर उनी फूल बिच्छाएर बसिरहेकी छन्। कोरोनाबाट जोगिनको लागि ‘सचेत छु’ भन्ने बाहेक उनीसँग अरु जवाफ छैन।
उनकै दाहिनेपट्टि पसल राखेकी शोभा भुजेल बेलपत्र टिप्दै थिइन्। उनको घर साँखु हो। गरिखान उनी काठमाडौँ पसिन्। उनको पसलमा बेलपत्र फूलमाला पाइन्छ। साउनको पहिलो सोमबार भएकोले उनी ४ बजे नै पसल थाप्न आइन्। तर साउनको पहिलो सोमबार भएपनि मन्दिरमा दर्शन गर्न मान्छे आएनन् किनकी पशुपति क्षेत्र विकास कोषले यो पाली पशुपतिको गेट खोलेन।
मान्छे आउन त नआएका होइनन लाखौँको घुइँचो हुने ठाउँमा सय आएपछि हालत के होला ? भुजेलको पसलको बेलपत्र फूलमाला घरमा पूजा लानेले लैजान्छन्। यो व्यवसाय उनको परिवार पाल्ने मेलो हो।
उनले छाताको डन्डीमा माक्स झुण्डाएकी छन्, ‘अब ज्यान मायामारेर भएपनि काम त गर्नै प¥यो। खान पनि पर्छ।’ भुजेल भन्छिन्, ‘अगाडि जे हुन्छ देखा जायगा।’
लिला मगर भकाभक सालको पातको दुना गास्दै थिइन्। उनको पसलमा पात, दुना टपरी, बेलपत्र अनि फूल थिए, ‘अब जे जे भट्टायो त्यही बेच्ने, मन्दिर खुलेको छैन, मन्दिर खुलेको भए फूलमात्रै बेच्नुहुन्थ्यो।’ उनी भन्छिन्, ‘गुजारा त गर्ने प¥यो।’
उनको घरमा ४ जना छन्, भुजेल र खड्काको जस्तै भाडा तिर्ने छोराछोरी पाल्ने उनको जिम्मेवारी छ। बेलपत्र र दुना टपरी मान्छे घट्दा बढ्ला चाहिने सामान हुन्। कोरोना महामारी भएपछि उनले आफ्नो व्यापारलाई चलाउन ट्रिक लगाइन् ।
तर व्यापार सोचेजस्तो कहाँ हुनु। विश्वभरका मान्छे आउने ठाउँमा कोही आएका छैनन्। कोरोनाको प्रकोप उनले नबुझेकी होइनन्। लाग्ला भन्ने डर त मनमा छ नी तर पैसा कमाउनुपर्ने बाध्यता आइलागेपछि उनीसँग विकल्प रहेन । ‘कोरोनाको डर छ भनेर कोसले पेट पाल्दिन्छ र ! जागिर छैन, छोराछोरी पाल्नै प¥यो । सरकारले हाम्रो भाडा तिर्दिदैन।’ उनी भन्छिन्, ‘कोरोना लागेर मरिएभनि पनि मरियोस्, एकदिन मर्नै पर्ने हो क्यारे !’