
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गरेकी छिन्।
निर्वाचनपछि विहीबार दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी हुन्। बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गरेका थिए।
संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउँदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए।
नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो। संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको थियो भने बैठक कक्ष र राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र अध्यक्ष तिमल्सिनाको आसनलाई विशेष आकर्षक बनाइएको थियो।