
सिमकोट – एक हजार रोपनी भन्दा बढी क्षेत्रफलमा गरिएकाे व्यवसायिक आलु खेतीमा पछ्यौटे डडुवा रोग लागेको छ।
लगातार पानी पर्नुका साथै कुहिरोका कारण घाम नदेखिँदा सिमकाेटकाे आलु खेतीमा डडुवा रोग लागेको हो।
फुल्न लागेका बेला रोग लागेर आलुको बोट पहेँलो हुन थालेपछि किसानह चिन्तित बनेका छन्।
सिमकोट गाउँपालिका वडा नम्बर ५ की गुहेला रावतले झारपात उखेलेर सफा गरिएका आलु खेतीमा रोग लागेर पहेँलो हुन थालेपछि चिन्ता बढेको बताइन्।
यता सिमकोट ५ कै उदाचौरमा आलु खेती गरेकी जानकी रोकायाले पनि आलुमा रोग लागेपछि उदेक लागेको बताइन्।
पछिल्ला वर्षमा आलुबाट राम्रो आम्दानी हुन थालेपछि त्यसतर्फ आकर्षित भएको बताउँदै रोकायाले रोग लागेपछि भने चिन्ता थपिएको बताइन्।
लगातार पानी पर्नु र घाम नलाग्नु नै आलुमा पछ्यौटे डडुवा रोग लाग्नुको मुख्य कारण भएको सिमकोट गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए।
रासायनिक विषादी प्रयोग गर्न नपाइने र जैविक विषादी नभएको बेला आलुमा रोग लागे पनि उपचारको कुनै उपाय नभएको उनले बताए।