
सिमकोट – राजनीति गरेपछि अन्य पेशा गर्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै हुम्लामा एक जना नेताले राजनीतिसँगै स्याउ खेती गरेका छन्।
जीविकोपार्जनको माध्यमका लागि सत्तारुढ दल नेकपाका स्थानीय नेताले स्याउ खेती गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य एवंं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीले राजनीति, स्याउ खेती र स्याउ नर्सरीलाईसँगै अगाडि बढाएका छन्। चार वर्ष अगाडिदेखि स्याउ खेती गर्दै आएका भण्डारीले गत वर्षबाट स्याउ नर्सरी पनि सुरु गरेका छन्।
उनका साढे तीन सय बोट स्याउ फल्न सुरु भएका छन्। यस पाली बोटमा स्याउ नफलेपछि उनलाई केही चिन्तित तुल्याएको छ । अहिले नै स्याउबाट धेरै फाइदा भन्दा पनि उनले हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिए पछिको फाइदालाई मुख्य रुपमा लिएका छन्।
राजनीति गरेपछि अरु काम गर्नु हुँदैन भन्ने नेपाली नेतामा सोच रहेको बेला आफूले आयआर्जनका लागि स्याउ खेती र स्याउ नर्सरी व्यवसाय गरेको उनले बताए।
उनले आफ्नो नर्सरीमा दश हजार स्याउका बोट उत्पादन भएर हुर्कने अवस्थामा रहेको बताए । स्याउका बिरुवा हुर्केपछि आवश्यकता अनुसार स्याउ खेती बिस्तार गर्ने र बाँकी बिरुवा बिक्री गर्ने लक्ष्य लिएको उनले बनाएका छन्।
कृषक पृष्ठभूमिका नेता भण्डारीले राजनीति गर्ने मान्छे स्याउ खेतीबाट भविष्य राम्रो देखेपछि यो पेशा अंगालेको बताए। सदरमुकाम सिमकोटमा बस्दै आएका नेता भण्डारी बेला बेलामा आफै खेती गरेको ठाउँमा जाने र अरु बेला आवश्यक बन्दोबस्तीको व्यवस्था गर्दै आएका छन्।