
काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
ललितपुर पाटन मंगलबजारको प्रशिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन पुगेका छन् । कोरोना भाइरसको महामारीको बेला रहेकाले सरकारले भिडभाड नगर्न भनेको छ र धार्मिक स्थलहरु पनि खुला गरेको छैन । तर सर्वसाधारण बिहानैदेखि ठूलो संख्यामा पुगेका छन् । प्रहरीले उनीहरुको प्रवेशमा कडाई गरेको छ ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कृष्ण मन्दिर क्षेत्रमा मंगलबार बिहानै देखिएको परिवेशलाई केही तस्बिरमा समेटेका छन् ।