
दाङ – न चर्किदो घामको कुनै प्रवाह । पसिनाले निथु्रक्क भिजेको जिउ । खेलाडीमा उही साहास, खेल जित्ने । दर्शकमा उस्तै उटहुटी ।
आइतबार घोराही क्रिकेट समूह फिल्डिङ्गमा थियो । तुलसीपुर क्रिकेट समूहको सामुन्ने ५ बलमा २४ रन जोड्नुपर्ने चुनौती थियो । यति रन नहाने हार स्वीकार्नुको विकल्प थिएन ।
दर्शक दीर्घमा अड्कलबाजी सुरुभयो, ‘यो गेम तुलसीपुरले जित्दैन, अब घोराहिको भयो ।’ १ सय ४४ रनको लक्ष्य पाएको तुलसीपुरलाई घोराहीले घेराबन्दी गर्यो । जतिखेल घट्दै गयो, उती नै दर्शकको चासो बढ्दै गयो ।
के महिला, के पुरुष अझ त्यसमा पनि स्कूले बालबालिकाहरु खेल हेर्न पुगेका थिए । ‘आफ्नै घर आगनमा भएको क्रिकेट प्रतियोगिता हेर्न आएको हुँ’ लमहीकी प्रतिभा चौधरीले भनिन् ‘यहाँ क्रिकेट हुन थालेपछि घरमा मनै अडिँदैन ।कस्ले जित्यो ? कती रन हान्यो होला उत्सुक्ता जागिरहन्छ ।’
ठूला प्रतियोगिता टेलीभिनका पर्दामा हेरेका दर्शकलाई लमहीको निर्माणाधिन मैदानमा हुने क्रिकेटले झनै खिचेको छ । ‘गेम सुरु भएदेखि यतै छु, छोड्नै मन लाग्दैन’ लमहीका भागवत पोखरेलले भने– ‘तर यस्ता खेल नियमित भैरहे भने अनि बल्ल खेलको विकास र खेलाडीको क्षमता बढ्छ ।’
लमहीमा जारी मेयर कप क्रिकेट प्रतियोगितामा दर्शकको उपस्थिति दिन दिनै बढ्दै गएको छ । स्थानीय स्तरमा हुने प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनको माध्यम समेत बन्ने गरेका छन् ।
देउखुरी क्रिकेट क्लबले लमही नगरपालीकाको सहयोगमा मेयर कप क्रिकेट प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगिताका उद्देश्य पश्चिममा क्रिकेटको भविष्यसँगै जोडिएको छ । लमहीमा निर्माणाधिन क्रिकेट मैदान सम्पन्न गर्न प्रतियोगिता आयोजना गरिएको हो । ‘लमहीको क्रिकेट मैदान अधुरै छ, मैदानको प्रचार प्रसार गर्दै सहयोगी निकायको ध्यानाकर्षणका लागी प्रतियोगिता आयोजना गरेका हौं’ देउखुरी क्रिकेट क्लबका अध्यक्ष शोभाराम पौडेलले भने ‘यो मैदान सम्पन्न गरेर ठूला प्रतियोगिता आयोजना गर्न सकियो भने यस क्षत्रको भविष्य त राम्रो छ नै देशकै क्रिकेटमा योगदान दिन सक्छौँ । यहि देखेर हामी लागेका हौँ ।’
सोमबार सेमिफाइनल
देउखुरी क्रिकेट क्लबले आयोजना गरेको मेयर कप प्रतियोगीता अन्तर्गत सोमबार सेमिफाइनल खेल हुँदैछ । देउखुरी क्रिक्रेट क्लब लमही र भ्याली जुनियर क्लब घोराहीको पहिलो खेल हुनेछ । दोस्रो खेल चन्द्र ज्योती क्लब हस्नापुर र यूएनविसी क्लब घोराही बिच प्रतिस्पर्धा हुनेछ । प्रतियेगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।