
काठमाडौं – राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुन अझै एक वर्ष लाग्ने भएको छ । दोलखाको लामाबरगमा रहेको ४५६ मेगावाटको यो आयोजनाबाट आगामी असारबाट विद्युत उत्पादन सुरु हुने भनिए पनि हालसम्म ९४ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनामा कुनै समस्या नआए २०७५ मंसिर पुससम्ममा पहिलो फेजबाट विद्युत उत्पादन हुने बताइएपनि फेरि यो आयोजना लफडामा फसेको छ । विभिन्न माग गर्दै पटक–पटक अवरोध गर्दै आएका स्थानीयले फेरि शेयर बाँडफाँडको विषयमा लफडा झिकेका छन् ।
बिगु र गौरीशंकर गाउँपालिकाका स्थानीयले आफूहरुलाई क बर्गमा राखेर शेयर दिनु पर्ने माग गरेका छन् । यस्तै दोलखा जिल्लाबासिन्दालाई ख वर्गमा राखेर शेयर दिनु पर्ने उनीहरुको पछिल्लो माग छ ।
एक महिनादेखि छलफल गरेर सहमतीको प्रयास भएपनि नमिलेपछि जिल्ला समन्वय समितिलाई विवाद मिलाउने जिम्मा दिइएको छ । जम्मा १८ किलोमिटर सुरुङ्ग रहेको माथिल्लो तामाकोशीको सुरूङभित्रै पावरहाउस निर्माण हुँदैछ ।
यस्तै सामान ढुवानीमा समेत समस्या भएको प्रवक्ता न्यौपानेले बताए । चरिकोटदेखि खरिढुंगासम्मा ठूला र बढी लोड भएका सामान ल्याउन समस्या भएको छ ।
समय धकेलिँदै, खर्च बढ्दै
आर्थिक वर्ष २०६५/०६६ मा सुरु भएको आयोजना सम्पन्न गरिएको मितिभन्दा २ वर्ष ढिलो भैसकेको छ । २०७२ सालमा सम्पन्न हुने भनिए पनि हालसम्म ९४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सामान ढुवानीमा देखिएको समस्याका कारण आयोजनाको काम नै ठप्प हुने खतरा देखिएको प्रवक्ता न्यौपाने बताउँछन् । सामान ढुवानीका लागि अहिले पनि सडक मर्मतको काम भैरहेको छ ।
यो आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रहेको थियो । तर अहिले ४१ अर्ब ७२ करोड पुग्ने देखिएको छ । विदेशी विनिमय दरमा आएको परिवर्तन, सञ्चालन खर्च र अन्य अवरोधका कारण लागत बढिरहेको आयोजनाको जवाफ छ ।
मुख्य सुरुङ्गको डिजाइन परिवर्तन, पेन स्टक पाइप खन्नमा उत्पन्न जटिलता, बाँध एम् टनेलमा कमजोर भुभाग भेटिनु, मुआब्जा वितरणमा समस्या जस्ता कारणले आयोजना सम्पन्न गर्न थप समय लाग्ने भएको हो । ८० वटा ठूलो पाइप मध्य अहिलेसम्म ७० वटा मात्रै ढुवानी भएको छ ।
सबस्टेसन र प्रसारण लाइनमा भने समस्या नरहेको न्यौपानेले बताए । पावर हाउसदेखि सबस्टेसन सम्मको ४७ किलोमिटर मध्य १७ किलोमिटर तार टाँगिएको छ । १२७ वटा मध्य १२३ वटा टावरको पाउडेसन सकिएको छ ।
चालु आर्थिक वर्ष २०७४/०७५ मा यो आयोजनाका लागि ५० करोड बजेट व्यवस्था गरिएकोमा पहिलो ६ महिनामा १६ करोड ६७ लाख ६७ हजार मात्रै खर्च भएको छ ।
अहिले भने आयोजनाको पूर्ण क्षमतामा काम भैरहेको आयोजनाले जनाएको छ ।