
सिमकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा उजुरीको चाङ्ग लागेको छ । कर्णाली प्रदेशका दशवटै जिल्लाका उजुरी सुर्खेत कार्यालयमा चाङ्ग लागेको हो ।
सरकारी निकायमा आर्थिक अनियमितता, बेथिति र भ्रष्टाचार भएको भन्दै उजुरी दर्ता गर्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७६–०७७ मा आयोग कार्यालयमा दर्ता भएका उजुरी संख्या एक हजार ८६ रहेको कार्यालयका प्रवक्ता मेघनाथ साप्कोटाले बताए । कुल उजुरी मध्ये ६१३ वटालाई कार्यालयले फर्छ्यौट गरेको छ ।
अहिले अनुसन्धानको क्रममा ४६७ उजुरी रहेका छन् । प्रवक्ता सापकोटाले आयोग कार्यालयले गत आर्थिक वर्षमा ५६ दशमलव ७६ प्रतिशत प्रगति हाँसिल गरेको जनाए । बाँकी उजुरी छानबिनका क्रममा रहेको र गहन विषय भएको कारण स्थलगत रुपमा पुगेर गहिरो अनुसन्धान गर्ने तयारीमा आयोग रहेको छ ।
कोरोना कहर र भौगोलिक विकटताले आयोगलाई उजुरीमाथि छानबिन गर्न कठिनाई भएको हो । आयोग कार्यालयमा परेका उजुरी मध्ये सुर्खेत जिल्लाका २३८ उजुरी मध्ये १५७ फर्छ्यौट भएको र ८१ वटा अनुसन्धानका क्रममा रहेका छन् । त्यसपछि दैलेख जिल्लामा १८६ उजुरी परेकोमा ११८ वटा फर्छ्यौट र ६८ वटा उजुरीमाथि अनुसन्धान भैहेको कार्यालयले जनाएको छ ।
जाजरकोटमा १४४ उजुरी परेकोमा ८४ वटा फर्छ्यौट भएको र ६० वटा माथि अनुसन्धान भैरहेको छ । यता कालिकोटबाट १०२ उजुरी परेको ३३ वटाको फछ्यौट र ६९ माथि अनुसन्धान भैरहेको छ ।
त्यसै गरि जुम्लामा ८४ उजुरी परेकोमा ३६ वटाको फर्छ्यौट भएको र ४८ वटामाथि छानबिन भैहेको छ । सल्यानका ८० वटा उजुरी मध्ये ६० वटाको फर्छ्यौट भएको र २० वटा माथि अनुसन्धान जारी रहेको छ । रुकुम पश्चिमबाट ७८ वटा उजुरी परेकोमा ५४ वटाको फर्छ्यौट र २४ वटा बाँकी रहेका छन् ।
हुम्लामा ६३ वटा उजुरी मध्ये २६ वटा फर्छ्यौट भएको छ भने ४० वटा माथि अनुसन्धान भइरहेको छ । मुगुका ५३ उजुरी मध्ये २० वटा फर्छ्यौट भएको छ भने ३३ वटा अनुसन्धानको क्रममा छन् । सबै भन्दा कम डोल्पामा ४९ उजुरीको मध्ये २५ वटा फर्छ्यौट भएका छन् भने २४ वटा माथि छानबिन भैहेको छ ।