
नेपालमा कोरोनाको परीक्षण बढाएकोसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहेको छ। यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ । मानसिक समस्याहरुमा एन्जाइटी डिसअर्डर, अनिद्रा, डिप्रेसन लगायतका समस्याहरु हुन् । तर यस्तो मानसिक समस्याहरुलाई समयमै ब्यबस्थापन गर्नु भने जरुरी छ ।
अहिले सामान्य एवं लक्षण नभएकोहरुको लागि सरकारले घरमा आइसोलेसनमा बस्न अनुमति पनि दिएको छ । अस्पतालमा बस्नुपर्छ भन्ने तनावले पार्ने मनोवैज्ञानिक असर घरमा बस्दा नपर्न सक्छ। परिवारसँगै छु भन्ने पारिवारिक बाताबरणले आत्मबिश्वास बढ्दछ । नियमित चिकित्सकसँगको सम्पर्कमा घरमा आइसोलेसनमा बस्दा गर्न सकिने केही टिप्सहरु–
–सधैँ कोरोनाको कुरा मात्र सोचेर बस्नु हुँदैन । सामाजिक सञ्जालको प्रयोग अत्यन्त कम गर्नुपर्छ । कोरोनाबारेका समाचारलाई कम सुन्ने, पढ्ने वा हेर्ने गर्नुपर्छ । घरमा आइसोलेसनमा बस्दा सृजनात्मक कार्यहरु गर्न सकिन्छ । यसलाई समस्या भन्दा अबसरको रुपमा उपयोग गर्न सकिन्छ ।
–समयमा सुत्ने र समयमा उठ्ने समय छान्नुहोला । केही काम छैन भनेर अल्छी गरेर दैनिकीलाई नबिगार्नुहोला । पर्याप्त निद्रा आबश्यक हुन्छ । तर बिहान सबेरै उठ्नु पनि होला ।
–फुर्सदिलो समयको उपयोग गर्दै दैनिक योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोच कम गर्नुका साथै प्रतिकूल अवस्थामा संयमित बनाउँछ । शरीरलाई सक्रिय राख्न शारीरिक व्यायाम पनि गर्नुपर्छ ।
–सन्तुलित भोजन लिनुपर्छ । मदिरा, चुरोट, सुर्ती र लागूपदार्थबाट टाढा रहनुपर्छ । बिहान मौसमी फलफूल खानुपर्छ । खाना खानु अघि काँक्रो, गाँजर, मूलाजस्ता ताजा सलाद खानु राम्रो हुन्छ । त्यस पछि खाना खानु राम्रो हुन्छ ।
–दैनिक नरिवल पानी र मौसमको जुसलाई पर्याप्त रुपमा पिउन राम्रो हुन्छ । नरिवलको पानीले शरिर भित्रको मिनरललाई सन्तुलित गर्दछ भने मौसमको जुसले भिटामिन सीको मात्रा बढाउँदछ । यसले बिरामी शरिरमा इम्युनिटी बढाउँदछ ।
–बिहान, दिउँसो, बेलुका खाना खानु अघि काँचो बेसारलाई आफ्नो नङको आकारमा चपाएर खानु राम्रो हुन्छ । यसलाई करिब १४ दिन सम्म लिन सकिन्छ । आयुर्वेद चिकित्सामा बेसारलाई इन्फेक्सन लगायत धैरै समस्याहरु प्रयोग गरिन्छ ।
–दिनमा केही समय आनन्द लाग्ने क्लासिकल संगीत सुन्ने बानी बसाल्नुपर्छ । उत्प्रेरणामूलक पुस्तक बढ्दा पनि सकारात्मक सोच बढाउन मद्दत पुग्छ ।
–बिहानीपखको घाममा करिब ४० मिनेट बस्ने र ताजा हावामा टहल्ने बानीले पनि शरीरमा स्फूर्ति दिलाउनुका साथै मनलाई ताजा महसुस गराउँछ ।
–कोरोना लागेको छ भनेर बिलकुल निरास हुनुहुँदैन । निराशापनले इम्युनिटीलाई असर पुर्याउँछ। नेपालमै हेर्ने हो भने कोरोना संक्रमितको तुलनामा निको भएर घर फर्केकाहरु हुनेहरु नै धैरै छन् । जे कुरा भावसहित बारम्बार दोहोर्याइन्छ, उक्त कुरा हाम्रो अबचेतन मस्तिष्कमा गएर बस्दछ । त्यसैले हरेक समय म स्वस्थ भइरहेको छु भनेर भावलाई दोहार्याउन सकिन्छ । राति सुत्नुअघि र बिहान उठ्नासाथ केही बेर आफू स्वस्थ भएको भावलाई मेरुदण्ड सिधा बनाएर, आँखा बन्द गरी भिजुलाइजेसन गर्नु राम्रो हुन्छ ।
–आफूलाई मानसिक समस्याको कारणले कुनै असहज महसुस भएको छ भने चिकित्सकसँग परामर्शको लागि सल्लाह लिन सक्नुहुन्छ ।
–यीबाहेक चिकित्सकले घरमा आइसोलेसनमा बस्नु अघि दिइएको सल्लाहको शतप्रतिशत पालन गर्नुहोला । ब्यक्तिगत सरसफाई लयायतको अन्य कुरालाई ध्यान दिनुहोला ।
(प्रधान होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरका मनोविज्ञ हुन्।)