
कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण भएको छ। बोल्टले केही दिनअघि क्रिकेटर क्रिस गेल, फुटबलर रहीम स्टर्लिङलगायतलाई बोलाएर आफ्नो जन्मदिन पार्टी मनाएका थिए।
बोल्टले गत साता आफ्नो ३४ औँ जन्मदिन पार्टीमा विश्व चर्चित खेलकुद अनुहारहरुलाई निम्ता गरेका थिए जसमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपायहरु पटक्कै अपनाइएको थिएन।
ओलम्पिक खेलकुदका ८ स्वर्ण पदक विजेता बोल्टले आफू घरमै सेल्फ आइसोलेशनमा रहेको बताएका छन्। जमैकाका स्वास्थ्य मन्त्रीले बोल्टलाई कोरोना संक्रमण भएको पुष्टी गरेका छन्।
त्यसअघि साेमबार राति बोल्डले सामाजिक सन्जालमा एउटा भिडियो पोस्ट गर्दै आफूले कोरोना संक्रमण परिक्षण गराएको र घरमा सेल्फ आइसोलेसनमा रहेको बताएका थिए।
‘सुरक्षित हुनका लागि म आफू सेल्फ आइसोलेशनमा छु। यसलाई सहज मानिरहेको छु’, बोल्टले ओछ्यानमा सुतेर आफैले खिचेको उक्त भिडियोमा भनेका छन्, ‘सुरक्षित रहनुस् मेरा मानिसहरु।’
बोल्टले सन् २०१७ मा एथलेटिक्सबाट सन्याश लिएका थिए। त्यसयता उनले व्यवसायिक फुटबल खेल्ने प्रयाश गरे पनि सफल देखिन सकेका छैनन्। बोल्टको नाममा एक सय र २ सय मिटरमा सर्वाधिक विश्व च्याम्पियन र सबैभन्दा छिटो दौडने विश्व कीर्तिमान रहेको छ।
जमैकामा ४ दिनयता दैनिक औसत ६० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। केही साताअघि सम्म दैनिक १० जनाभन्दा कममा संक्रमण देखिने गरेको थियो। जमैकामा हालसम्म एक हजार ६ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ६ सय २२ जना अहिले उपचाररत छन्। १६ जनाको मृत्यु भइसकेको छ।