काठमाडौँ – लायन्स् क्लबले गत सातादेखि ‘अक्सिजन बैंक’ को सुरुवात गरेको छ। कोरोना महामारी बढ्दै गएपछि क्लबले निशुल्क अक्सिजन उपलब्ध गराउन ‘अक्सिजन बैंक’ को सुरुवात गरेको हो।
क्लबका अध्यक्ष दीपक बन्सलले विशेषगरी ‘होम आइसोलेसन’ बस्ने विपन्न वर्गहरुका लागि ‘अक्सिजन बैंक’ को सुरुवात गरेको जानकारी दिए।
कोरोना महामारी दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा अस्पतालमा शैया ‘बेड’ को अभाव भएकाले संक्रमितहरु ‘होम आइसोलेशन’ मा बसेकाहरुलाई अक्सिजनको आवश्यकता मध्यनजर गर्दै निशुल्क अक्सिजन उपलब्ध गराउने अध्यक्ष बन्सलले बताए।

दीपक बन्सल
उनले भने, ‘कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्था छ। अस्पतालमा बेडको अभाव त्यतिकै अभाव छ। यस्तो परिस्थितिमा संक्रमितहरुले होम आइसोलेशनमा बस्नुपर्छ। होम आइसोलेशनमा बसेका विपन्न, अशक्तहरुलाई निशुल्क अक्सिजन दिने हो।’
तर उनले अस्पतालहरुका लागि यो सेवा नभएको बताए। यस्तै ‘अक्सिजन बैंक’ का अध्यक्ष विवेक शर्माले अक्सिजन उपलब्ध गराउनु अघि आफूहरुले ती व्यक्तिहरुको सम्पूर्ण जानकारी राख्ने गरेको बताए।
‘कुनै व्यक्तिलाई अक्सिजनको आवश्यकता भएमा वडाअध्यक्षबाट सिफारिस ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘वडाअध्यक्षले अक्सिजन लिने मान्छे विपन्न छ या छैन, साँच्चै पीडित हो या होइन त्यो सबै भरेर पढाएपछि हामी अक्सिजन उपलब्ध गराउँछौँ।’
यदि कसैले आफ्नो वडाध्यक्षको सिफारिस ल्याउन नसकेको खण्डमा आफूहरुले ती व्यक्तिहरुको बारेमा सबै बुझेर मात्र अक्सिजन दिने गरेको उनले बताए।

विवेक शर्मा
साच्चिकै पीडित व्यक्तिले सेवा पाउन् भन्ने हेतुले यस्तो व्यवस्था गरिएको उनले बताए । ‘जो व्यक्ति साच्चिकै पीडित छ। उसले सेवा पाओस् भन्ने हाम्रो चाहना हो। त्यसैले हामीले वास्तविक पीडितको पहिचान गरेर मात्रै अक्सिजन दिन्छौँ’ उनले भने।
उनले अक्सिजन निशुल्क उपलब्ध गराए पनि सिलिण्डर भने फिर्ता लिइरहेको बताए।
सिलिण्डर फिर्ता नलिएको खण्डमा त्यसको दुरुपयोग हुने उनको भनाई छ। ‘अक्सिजन दिँदा सिलिण्डर फिर्ता गरुन् भनेर केही रकम अथवा चेक जम्मा गछौैँ’, उनले भने, ‘सिलिण्डर फिर्ता नल्याएमा चेकका आधारमा पत्ता लगाएर फिर्ता ल्याउन सक्छौँ।’
उनले १० दिनभित्र १३ जनालाई अक्सिजन उपलब्ध गराइसकेको बताए। ‘आज अक्सिजन बैंक सुरु गरेको १० दिन भयो। यो अवधिमा हामीले १२–१३ जनालाई सहयोग गरेका छौँ’, उनले भने।
उनले अक्सिजन बैंकको सेवा विशेषगरी असहाय तथा आर्थिक अवस्था कमजोर भएका कोभिड संक्रमितहरुका लागि भए पनि अत्यावश्यक भएमा अन्य व्यक्तिहरुलाई पनि उपलब्ध गराउने बताए।
‘हामीले विशेषगरी कोरोना संक्रमितहरुका लागि काम गरिरहेका छौँ’ उनले भने, ‘अत्यावश्यक भएमा अन्य व्यक्तिहरुको हकमा भने उनीहरुको सम्पूर्ण चेकजाँच गरेर साँचै समस्यामा परेको हो या होइन त्यो सबै आफै गएर हेर्छौँ । साच्चै समस्यामा परेको भए सहयोग गछौँ।’
समस्यामा परेकाहरुले आफूहरुलाई टोल फ्रि नम्बर ९८४३४४४०५५ र ९८१३१८६४८४ मा सम्पर्क गन सकिने तथा वडाअध्यक्षलाई पनि सम्पर्क गर्न सक्ने उनले जानकारी दिए।
‘पीडितहरु या आफन्तले सम्पर्क गरेमा अक्सिजन दिन्छौँ’ उनले भने, ‘जसको कोही छैन उहाँहरुलाई हामी आफै गएर सहयोग गछौँ।’
अक्सिजन बाहेक थप उपचारका लागि सहयोग आवश्यक भएमा पनि आफूहरु त्यसका लागि पनि तयार रहेको उनले बताए। ‘बिरामीले हामीसँग थप उपचारको सहयोग मागेमा स्वास्थ्यकर्मीको परामर्श उपलब्ध गराउन डा. राेशन झा हुनुहुन्छ’ उनले भने, ‘उहाँले अनलाइन मार्फत परामर्श दिनुहुन्छ।’
अक्सिजन लैजाने क्रममा व्यक्तिहरुलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिएर पठाउने गरेको उनले बताए। ‘अक्सिजन प्रयोग गर्न त्यस्तो कठिन छैन, एक पटक सिकेपछि आफै प्रयोग गर्न सकिन्छ’, उनले भने।
उनले आगामी दिनमा स्थिति भयावह भएमा आफूहरुले त्यसको पूर्व तयारी समेत गरेको बताए। अहिलेको अवस्थामा सरकारको मुख ताक्ने अवस्था नरहेको र सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने उनले बताए।
नेपालका विभिन्न जिल्लामा १५ सय लाइन्स क्लब रहेका छन् भने ३५ हजार सदस्य छन्। अध्यक्ष बन्सलले काठमाडाैँ उपत्यकासँगै बिस्तारै क्लबका माध्यमबाट सबै जिल्लामा ‘अक्सिजन बैंक’ सेवा दिने लगाउने बताए।
उपत्यकाभन्दा अन्य जिल्लामा जोखिम बढेको र उक्त सेवाका लागि जिल्लाबाट सहयोगको माग आएमा आफूहरु सहयोग गर्न तयार रहेको उनले बताए। उनले अक्सिजन बैंकका लागि नवज्योति ग्याससँग सहकार्य गरिरहेका बताए।
‘अहिले हामीले २ सय सिलिण्डरको व्यवस्था गरेका छौ’ उनले भने, ‘एक चोटीमा सानो सिलिन्डर ४–५ घन्टा चल्छ भने ठूलो २० घण्टा। त्यसैले रिफिलिङको योजना बनाइरहेको छौँ।’
आफूहरुको सेवा २४ सै घण्टा सुचारु रहेको उनले जानकारी दिए।