
सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केघाड गाउँपालिका वडा नं. ७ को ठूलो गाउँमा बुधबार बेलुका आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। आगलागीबाट करोडौँको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ।
आगलागीबाट ६ घर जलेर नष्ट भएका छन् भने १५ घरमा क्षति भएको वडा अध्यक्ष प्रशाद जैशीले बताए।
आगलागीबाट सर्केगार्ड गाउपालिका वडा नं. ७ ठूलागाउँको बाहुन बाडामा रहेका जोख्या जैशी, हरिभक्त जैशी, अपिलाल जैशी, देवीसिंह जैशी, रुपकला जैशी र मथन जैशीका ६ घर पूर्ण रुपमा जलेको प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद सुवेदीले बताए।
अन्य १५ घरमा आंशिक क्षति भएको वडा अध्यक्ष जैशीले बताए । ठूला गाउँको बाहुन बाडामा रहेको जोख्या जैशीको घरबाट सल्किएर गाउँका अन्य घरमा आगो फैलिएको स्थानीयले बताएका छन्।
आगो राती अवेर मात्र नियन्त्रणमा आएको वडा अध्यक्ष जैशीले जानकारी दिए । सबै घरसँगै जोडिएकाले आगो निभाउन बीचका केही घर भत्काइएको थियो।
आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।
अग्नि पीडितका लागि राहतको पहल भइरहेको स्थानीय प्रशासनले जनाएको छ।