
क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको पहिलो सेमिफाइनलमा मंगलबार साँझ सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले ट्रिनबागो नाइट राइडर्सको सामना गर्दै छ। पौने ८ बजे सुरु हुने खेल रोमान्चक हुने अनुमान गरिएको छ।
प्रतियोगिताको लिग चरणमा ट्रिनबागोले सबै १० खेल जितेको थियो। यता जमैकाले भने १० मध्ये केवल तीन खेलमात्र जितेर चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको थियो। प्रतियोगितामा ट्रिनबागो हरेक पक्षमा शसक्त देखिएको छ भने जमैकाको बलिङमात्र चम्किएको छ। जमैकाका दुई स्पीनर सन्दीप र मुजिब उर रहमानले शसक्त प्रदर्शन गरिरहेका छन्।
मुजिब १५ विकेटसहित सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्षस्थानमा छन्। सन्दीपले पनि १२ विकेट लिएका छन्। कार्लोस ब्राथवैटको नाममा १० विकेट छ। ट्रिनबागोका फवाद अहमदले सर्वाधिक १० विकेट लिएका छन्। ड्वेन ब्राभोले ९ र जेदन सिल्सले ८ विकेट हात पारेका छन्।
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि जमैकाका ग्लेन फिलिप्स शीर्षस्थानमा छन्। आन्द्रे रस्सेल पनि लयमा छन्। तर कार्लोस ब्राथवैट, रोवमन पावेल, निरुमह बोन्नर, चान्डविकलगायत ब्याट्सम्यानको प्रदर्शन राम्रो छैन। यता ट्रिनबागोका कायरन पोलार्ड, कोलिन मुन्रो, सुनिल नारायन, ड्वेन ब्राभो, ड्यारेन ब्राभो, लेन्डल सिमोन्सलगायत अधिकांश ब्याट्सम्यान लयमा छन्।