
बुटवल– पर्यटनमन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजनाको बाँकी काम अबको साढे २ वर्षमा पूरा हुने बताएका छन्।
रुपन्देहीको पर्यटन विकास तथा निर्माणधीन आयोजनाको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुका साथै निर्माणाधीन पाँच हजार मानिस अट्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र र रोयल थाइ विहार, चीन, म्यानमार लगायतका विहारहरुको अवलोकनपछि यस्तो बताएका हुन्।
‘लुम्बिनीको बृहत् विकास गरी विश्वकै शान्तिग्राम बनाउने गरी काम भइरहेको छ। यसलाई संसारकै आस्था र शान्ति केन्द्रको रुपमा विकास गर्न सरकारले प्राथमिकताका साथ काम अगाडि बढाएको छ’, उनले भने।
लुम्बिनी गुरुयोजनाको काम सम्पन्न हुनासाथ लुम्बिनीको विकाससँगै बुद्धको जीवनीसँग जोडिएका अन्य क्षेत्र बुद्ध मावली देवदह, कपिलवस्तु रामग्राम लगायतको विकासलाई समेत सँगसँगै अगाडि बढाउने उनले बताए।
मन्त्री भट्टराईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्त अवधेशकुमार त्रिपाठीले लुम्बिनीको विकासको प्रगति र अवस्थाबारे जानकारी गराएका थिए।
मन्त्रीलाई जानकारी गराउँदै उनले भने, ‘लुम्बिनी विकास कोषले संरचनाहरु छिटोभन्दा छिटो बनाउनका लागि परामर्शदाता नियुक्त गरेर सबै डिपीआरहरु बनाइसकेका छँ, अब सिधै काममा जाने बाटो खुलेको छ। यो धेरै महत्वपूर्ण काम लकडाउनको अवधिमा भएको छ। विश्वव्यापी रुपमा प्रभाव पारेको कोभिड–१९ भाइरसले बुद्ध जन्मस्थलमा आउने पर्यटकहरुलाई प्रभावित बनाएपनि विकास निर्माण कार्यले निरन्तरता पाएको छ।’
काम गर्ने व्यक्तिहरुलाई सोही ठाउँको साइटमा नै रहने व्यवस्था गरी विकास निर्माणका महत्वपूर्ण योजनालाई अगाडि बढाइएको कोषले जनाएको छ।
लकडाउनको समयमा मायादेवी मन्दिरको प्रवेश मूलमार्ग ५ नम्बर द्वारको ब्रिक लेन लगायतका डिजाइनको काम, नेपालमै नमूना बन्न लागेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभा तथा ध्यान केन्द्रको प्रारम्भिक चरणको काम सकिएको र बाहिरी स्वरुप दिने काम भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले बताए।