
सिमकोट– चोरी घटना जताततै हुने गरेपनि सिमकोट गाउँपालिकाको चुवा खोला क्षेत्रमा भने त्यसको कुनै चिन्ता छैन। स्थानीयले खर्कमा यत्तिकै छाडेर आएको रासनपानी दुई महिनापछि जाँदा पनि जस्ताको तस्तै हुन्छ।
स्थानीयहरु लेकबाट फर्कदा ती सामान पालले छोपेर मात्रै फर्केका हुन्छन्। गत जेठ असारमा चुवाखोलाको लाचार्म क्षेत्रमा नदीको किनारामा पालले छोपेर राखिएको सामान देखाउँदै छिमी लामाले भने, ‘सामानको मालिक नआउँदासम्म त्यो सामान कसैले पनि केही गर्दैन।’
उक्त सामान भदौ अन्तिम वा असोज महिनामा मात्र खर्काला (खर्कमा बस्ने गोठाला) आएर मात्र आफ्नो सामान चलाउँछन्।
यस वर्ष कोरोना कहरले गर्दा खर्काला बाहेक अन्य कोही पनि नआएको र वर्षेनी रुपमा पछि चाहिने रासनपानी खर्कालाले यसरी नै राख्ने गरेका छन्।
भारी बोकिरहनुभन्दा पछि आवश्यक पर्ने सामान अगाडी नै पालले छोपेर राखे पछिको लागि सजिलो हुने छिमी लामाले बताए। अहिलेसम्म चोरीको घटना नभएको उनी बताउँछन्।
चुवाखोला क्षेत्रको वनमा खर्क बनाउने स्थानमा यसरी पछिका लागि रासनपानी छोपेर राखेको जताततै राखेको देखिन्छ। खाद्यान्न, भाँडा, कपडा, नुन लगायतको सामानहरु यसरी नै राखेका हुन्छन्, उनीहरुलाई चोरी होला भन्ने पीर नै छैन।
अर्का खर्काला नरेन्द्र लामाले पहिलेदेखि नै खर्कालाको सामान चोरी नहुने भएको कारण यसरी बेवारिसे अवस्थामा राखिएको हो। चिसो बढ्दै जाने र खर्क सार्दा आवश्यक पर्ने सामान त्यसमा राखिएको हुन्छ।