
बहुचर्चित एप्लिकेशन टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिद गर्न माइक्रोसफ्ट असफल भएको छ ।
अन्तिम समयमा आएर टिकटकले आफ्नो प्रस्ताव अस्वीकार गरेको माइक्रोसफ्टले जनाएको छ । योसँगै टिकटकको अमेरिकामा सञ्चालन अधिकारी खरिदको होडमा ओरेकल अघि आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको टिकटकलाई अमेरिकामा सञ्चालन अधिकारी बेच्न वा बन्द गर्न सेप्टेम्बर १५ सम्मको समय सीमा दिएका छन् ।
ट्रम्प प्रशासनले टिकटकसहितका अरु चिनियाँ एप्लिकेशनहरु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको बताएको छ ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिदका लागि माइक्रोसफ्ट र ओरेकल सबैभन्दा अघि थिए । माइक्रोसफ्टको प्रस्ताव बाइटडान्सले अस्वीकार गरेपछि ओरेकल लगभग एक्लो दाबेदार बनेको छ ।
द वाल स्ट्रिट जर्नल र समाचार संस्था रोयटर्सले सञ्चालन अधिकार खरिद गर्ने होडमा ओरेकलले बाजी मारेको उल्लेख गरेका छन् ।