
सिमकोट – चीनसँग सिमाना जोडिएको चुवा खोला क्षेत्रमा मौरी पालन व्यवसाय फस्टाएको छ।
कडा चट्टानी भीरमा भर्याङ्ग ( लिस्नो ) लगाएर घारलाई डोरीमा बाँधी झुन्ड्याएर मौरी पालन थालिएको हो।
सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम गाउँका कुन्ज्याक मुटुब लामाले फूूल फुल्ने जंङ्गलमा मौरी धेरै हुने भएको कारण चुवा खोला क्षेत्रको तल्लो भागमा भीरमा घारलाई डोरीले बाँधेर मौरी पालन व्यवसाय गरिएका थिए।
भीरमा लिस्नो लगाएर घारलाई डोरीले बाँधेर झुन्ड्याई राखेपछि मौरी आफै घारभित्र पस्ने उनले बताए । यसरी पालन गरिएका मौरीबाट कार्तिक महिनामा मह उत्पादन हुने वडासदस्य समेत रहेको लामाले बताए।
उक्त क्षेत्रका दोजाम गाउँका बासिन्दाले डेढ किलो मिटर भीर क्षेत्रमा यसरी मौरी पालन व्यवसाय गरेका छन्। यी मौरी वन मौरी नभएर घर मौरी हुन् ।
लामाले एक जना स्थानीयले २० वटासम्म घार भीरमा झुण्ड्याएर मौरी पालन गरिरहेको बताए। भीरमा उक्त गाउँका किसानहरुले चार सयसम्म घार राखेका अर्का स्थानीय छिमी लामाले बताए ।
सबै घारमा मौरी बसिसकेका छन् । महका लागि हुम्लाकै प्रख्यात दोजाम गाउँमा घरघरमै मौरी पालन व्यवसाय गरिँदै आएको छ ।
भीरमा घार राखेर मौरी पालन गर्ने कार्य जोखिम भएपनि मह पनि धेरै उत्पादन गर्न सकिने लामाले बताए ।