
झापा- झापामा सञ्चालित एकका लागि एक अभियानले पीसीआर प्रयोगशाला स्थापना गरेर सञ्चालन गर्न थालिसकेपछि अब प्लाज्मा बैंक स्थापना गर्ने भएको छ।
प्लाज्मा बैंक स्थापना गर्नका लागि अभियानका तर्फबाट ११ लाख रुपैयाँ सहयोग हुने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।
उनले भने, ‘हिजो हामीले प्लाज्मा बैंक स्थापनाका लागि बैठक गर्यौं। एकका लागि एक अभियानले ११ लाख रुपैयाँ दिने निर्णय गरेको छ। करिब २० लाख रुपैयाँमा बैंक बनिसक्छ।’
ढकालले यस अघि पनि प्लाज्मा निकालेर अन्य बिरामीका लागि प्रयोग गरिएको भए पनि कोरोना भाइरस संक्रमितका लागि भने केही छुट्टै संरचना बनाउनु पर्ने बताए।
उनले अशाेज १० गते भित्रमा सञ्चालन गर्ने किसिमले काम अघि बढेको जानकारी दिए।
एकका लागि एक अभियानमा समुदायका मानिसले सहयोग गरेका छन्। उक्त अभियान कोरोना भाइरस संक्रमण तीव्र बनेपछि मानवीय सहयोगका लागि स्थापित अभियान हो।
उक्त अभियानले कनकाई नगरपालिका ४ स्थित कोटीहोममा कोरोना भाइरस परीक्षण पीसीआर प्रयोगशाला स्थापना गरेर सरकारलाई बुझाइसकेको छ।
अभियानका संयोजक महेन्द्र गिरीका अनुसार पिसिआर ल्याबको सफल निर्माणपछि अब कोरोना भाइरस संक्रमणका गम्भीर बिरामीका लागि प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक स्थापनामा अभियान लागेको हो।
उनले भने, ‘कोरोना भाइरस संक्रमणलाई जितेर फर्केकाहरूको रगत संकलन गरेर प्लाज्मा निकालेर अन्य गम्भीर किसिमका संक्रमितको उपचारका लागि अभियानले पाइला चालेको हो।’
झापामा मेची अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार हुने गरेको छ। त्यस्का अतिरिक्त धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार हुने गरेको छ।