
सिमकोट – सिमकोट विमानस्थलमा रहेका विद्युतका पोल हेलिकप्टरबाट ढुवानी गरिएको छ । सडक यातायात नजोडिएको हुम्ला जिल्लामा विद्युतका पोल भरियाबाट ओसार्न असम्भव भएपछि महंगो ढुवानी भाडा तिरेर ती पोल ढुवानी गरिएको हो ।
विद्युत आयोजनाको अन्य निर्माणका कार्य सम्पन्न भएपछि पोललाई हेलिकप्टरबाट निर्माण स्थल खार्पुनाथ गाउँपालिकाको वडा नम्बर २ को रायामा ढुवानी गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढाले बताए ।
आयोजनाका अन्य कामहरु सम्पन्न भएको र पोल ढुवानी गरेर गाड्ने काम बाँकी रहेको कारण महंगो हवाई भाडा तिरेर ढुवानी गर्नु परेको हो । पोलको काम सम्पन्न भएपछि विद्युत आयोजना सञ्चालनमा आउने छ ।
नेपालगञ्जबाट हवाई जहाजमा ढुवानी भएर सिमकोट विमानस्थलमा ल्याइएका ती पोलहरु सिमकोटबाट खार्पुसम्म गाडीमा र त्यताबाट हेलिकप्टरमा ढुवानी भएका हुन् ।
आउजाउ गरी साढे सात मिनेट समय लगाएको हेलिकप्टरले एउटा पोलको ढुवानी खर्च १० हजार लगेको छ । उनले पचास पोलका लागि एक सयवटा पोलका भागलाई दश लाखमा निर्माणस्थल रायामा ढुवानी गरिएको बताए ।
यस्ता असजिला सामानहरु हेलिकप्टर झुण्ड्याएर लगे पनि यसपाली भने हेलिकप्टरको ढोका खुल्ला बनाएर पोल राखी ढुवानी गरेको थियो ।
जिल्लामा आन्तरिक रुपमा सञ्चालन गरिने विद्युत आयोजनाका लागि यसरी नै हेलिकप्टरले मेसिन तथा अन्य गरुङ्गा सामान ढुवानी गर्छ ।