
सिमकोट– नेपालमा कोरोना भाइरसकाे संक्रमण फैलिएको लामाे समयपछि हुम्लामा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।
बाँकेको नेपालगंजमा गरिएको पीसीआर परीक्षणमा हुम्लाका एकजनामा कोरोना पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षीया युवतीमा कोरोना देखिएको बताए।
शुक्रबार कोहलपुरमा संकलन गरीएको स्वाबको नजिता पोजेटिभ देखिएको हो। हवाई मार्गबाट हुम्ला जाने यात्रुहरुको स्वाब संकलन गरिएको थियो। एयरलाइन्सको लापरवाहीले पीसीआरको नतिजा नआउँदै उनी शनिबार नेपालगञ्जबाट समिट एयरमार्फत हुम्ला आएकी थिइन्।
जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लामा सम्पर्क गरेर सर्तकता अपनाउन भनिएको श्रेष्ठले बताए। शनिबार समिट एयरको विमानबाट १२ जना अन्य यात्रुसहित हुम्ला आएकी ती युवती एक बास सिमकोटमा बसेर आइतबार बिहान माउण्टेन्ट एयरको हेलिकोप्टरबाट अन्य चार जना यात्रुसहित सर्केघाड गाउँपालिका गएकी छन्।
कोरोना संक्रमित युवतीलाई होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ। उक्त युवतीमा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा उच्च सर्तकता अपनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्र बैठक बसेर सावधानी अपनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए।
यसअघि हुम्ला स्थायी ठेगाना भएका चारजनामा कोरोना संक्रमण देखिए पनि उनीहरु सबै जिल्ला बाहिर बस्दै आएका थिए।