
गत सिजनको सुरुवातदेखि लियोनल मेस्सी आफूलाई हुर्काएको, बढाएको क्लब बार्सिलोनासँग सन्तुष्ट छैनन्। रिसाएका छन्, दुखी छन्। आफूलाई अर्को क्लब जाने वातावरण नबनाई दिएपछि उनी क्लब व्यवस्थापनसँग रुष्ट छन्। त्यसमा पनि भर्खरै आधा दशकयताका आफ्ना ‘स्ट्राइकिङ पार्टनर’ लुइस स्वारेजलाई बार्साले बिक्री गरेपछि मेस्सीको रिस थप छताछुल्ल भयो।
स्वारेजको विदाइमा मेस्सीले भावुक हुँदै भने, ‘तिमी जे हौ त्यसको सम्मान हुने बिदाइका हकदार छौ। तिमी बार्सिलोनाको इतिहासका एक महत्वपूर्ण खेलाडी हौ। तिमी निकालिनु पर्ने खेलाडी होइनौ। सत्य यही नै हो जुन अहिले देखिएको छ। मलाई अब केही कुराले पनि आश्चर्य बनाउने छैन।’
बार्सासँग मेस्सीको सम्झौता यसै सिजन सकिँदै छ। अब उनी आगामी सिजन अर्कै क्लबबाट खेल्न सक्ने लगभग पक्काजस्तै छ, यदि अहिलेको मुड फेरिएन भने। सन् २०१४ मा लिभरपुल छाडेर स्वारेज बार्सिलोना आबद्ध भएयता मेस्सीसँग उनको तालमेल बार्सिलोनाका धेरै सफलतामा महत्वपुर्ण बनेको थियो।
गत सिजन उपाधिबिहिन बन्नु र युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गोलले पराजित भएपछि बार्सिलोनामा धेरै उलटपुलट भएको छ। क्लबका थुप्रै खराब कीर्तिमान बने। त्यसयता प्रशिक्षक फेरिएका छन्, मेस्सीको अस्वभाविक असन्तुष्टि छताछुल्ल भएको छ, स्वारेज बाहिरिएका छन् र क्लबका अध्यक्ष मारिया बार्तोमेउलाई जिम्मेवारीबाट हट्न दबाब परेको छ।
मेस्सीको निशाना बनिरहेका बार्तोमेउको कार्यकाल आगामी मार्चमा सकिँदै छ। तर त्यसअघि नै उनलाई जिम्मेवारीबाट हटाउने प्रयाशहरु सुरु भएका छन्। बार्सिलोनाका एक लाख ४० हजारभन्दा सदस्यहरुमध्ये २० हजारले लिखित निवेदन दिएका छन्। बार्तोमेउलाई बेलैमा हटाएर क्लब छाड्ने मेस्सीको मुड फेर्न सकिने वर्तमान क्लब व्यवस्थापन विरोधीको विश्वास छ।
कसले सम्हाल्छ अग्रपंक्ति?
ला लिगाको यो सिजन बार्सिलोनाले पहिलो खेलमा आइतबार राति भिल्लारियलसँग खेल्दै छ। स्वारेज र अर्तुरो भिदाल क्लबबाट बाहिरिएपछि बार्सिलोनाको अग्रपंक्तिमा मेस्सीबाहेक को को रहनेछन् भन्ने चासोपूर्वक हेरिएको छ।
त्यसो त क्लबमा प्रतिभावान खेलाडीको कमी छैन। एन्टोइन ग्रिजम्यान, फिलिप कौटिन्हो, औसम्यान डेम्बेले, अंशु फातीलगायत खेलाडी अग्रपंक्तिका लागि तयार छन्। तर क्लबको सेन्टर फर्वार्डका रुपमा खेल्न सक्ने खेलाडीको कमी छ। सेन्टर फर्वार्ड मार्टिन ब्रेथवैट घाइते छन्। ग्रिजम्यान र कौटिन्हो जम्ने गरेको क्षेत्र मेस्सीले आफू खेल्न रुचाउँछन्। यसमा नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानले कस्तो योजना बनाउँछन् भन्ने कुरा बार्सिलोनाका लागि अर्थपूर्ण बन्ने छ।
के होला रक्षापंक्ति?
गत सिजन ला लिगामा बार्सिलोनाले विजेता रियल म्याड्रिडभन्दा १३ गोल बढी ब्यहोरेको थियो।
युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ब्यहोरेको ८ गोलले बार्साको रक्षापंक्तिमा भएको कमजोरी छरप्रस्ट भएको छ। नेल्सन सेमेडो, इङ्लिस क्लब उल्भ्सलाई बेचेपछि बार्सिलोनामा अब राइट ब्याकका रुपमा सर्जि रोबर्टो मात्र छन् जो अगाडी बढेर खेल्न पनि माहिर मानिन्छन्।
पहिलो रोजाईका अर्का रक्षक जोर्दी अल्बा पनि पूर्ण फिट छैनन्। नियमित गोलरक्षक मार्क एन्डर टर स्टेजेन आगामी नोभेम्बरसम्म खेल्न सक्ने छैनन्। उनी आराम गरिरहेका छन्।