
वैज्ञानिकहरुले प्लास्टिक बोतल तीव्र गतिमा खान सक्ने नयाँ सुपर–एन्जाइमको विकास गरेका छन्। यसअघि जापानका वैज्ञानिकले ब्याक्टेरियाको प्रयोग गरेर प्लाष्टिक बोतल खाने सुपर–एन्जाइमको विकास गरेका थिए ।
अहिले विकास गरिएको सुपर–एन्जायमले विगतको सुपर–इन्जाइमले भन्दा ६ गुणा छिटो प्लाष्टिक बोतल खान सक्ने छ। अबको एक वा दुई वर्षभित्र सो सुपर–एन्जाइमलाई प्लाष्टिकको ‘रिसाइकल’ का लागि प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
ब्याक्टेरियाबाट विकास गरिएको सुपर–एन्जाइममा प्राकृतिक रुपमै प्लाष्टिक खाने क्षमता विकास हुने र त्यसमा प्लाष्टिक बोटल रिसाकल गर्ने क्षमता हुने वैज्ञानिकले बताएको द गार्डियनमा प्रकाशित समाचारमा उल्लेख छ ।
कटनलाई टुक्रा पार्ने एन्जायमलाई समायोजन गर्न सकेमा मिश्रित कपडा रहेका लुगाहरु पनि रिसाइलक गर्न सकिने विश्वास वैज्ञानिकको छ ।
विश्व वातावरणमा सबैभन्दा ठूलो चुनौतिका रुपमा प्लाष्टिक र प्लाष्टिकजन्य फोहोर रहेको छ । प्लाष्टिकका अति साना कणहरु खाना वा हावा मार्फत मानिसको शरीरमा जाने गरेको छ ।
अहिले पुराना प्लाष्टिक बोतलहरुलाई त्यसको रसायनिक संरचनामा लैजान अति कठिन रहेको छ । रसायनिक संरचनामा पुनः नलगिएसम्म त्यसबाट नयाँ बोतल बनाउन सकिँदैन । जसका कारण विश्वमा हरेक वर्ष प्लाष्टिक बोतलको संख्या थपिँदै गएको छ ।

तस्बिर : गेट्टी इमेज
सन् २०१६ मा जापानको फोहोर व्यवस्थान क्षेत्रमा पाइएको प्लाष्टिक खाने बगमा पाइएका दुई भिन्न इन्जाइमको संयोजनबाट नयाँ सुपर–एन्जाइम बनाइएको हो ।
अनुसन्धानकर्ताले सन् २०१८ मा ती बगमा पाइएको एन्जाइमबाट प्लाष्टिक खाने नयाँ इन्जायम बनाएका थिए । अहिले दुई वर्षअघिको सो इन्जाइमले भन्दा ६ गुणा छिटो प्लाष्टिक खाने नयाँ सुपर–एन्जाइम वैज्ञानिकले विकास गरेका हुन् ।
युनिभर्सिटी अफ पोर्ट्स्माउथ र अमेरिकाका चार संस्थाका वैज्ञानिकले गरेको अनुसन्धानको प्रतिवेदन प्रोसीडिङ्गस अफ द नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।
प्राध्यापक जोन म्याकगीहनसहितको वैज्ञानिक समूहले अहिले सो सुपर–एन्जायमलाई अझ तीव्र गतिमा काम गर्न सक्ने कसरी बनाउन सकिन्छ भनेर काम गरिरहेका छन् ।