
काठमाडौँ– २०७२ सालको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरीको रुप पाँच वर्षपछि फेरिएको छ। भूकम्पले कुरुप बनाएको रानीपोखरीको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। लगभग निर्माणको सबै काम सम्पन्न भएको रानीपोखरी ३ करोड २२ लाख लिटर पानीले जलमग्न भएको छ।
पोखरीमा भरिभराउ भएको पानी बागमतीबाट ल्याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए। उनले भने, ‘रानीपोखरी निर्माणको काम करिब सम्पन्न भइसकेको छ। केहि फिनिसिङ, विद्युत विस्तार र पोखरीमा अझै १० इन्च पानी राख्न बाँकी छ।’
पोखरीमा पानी भरेर मात्र नहुने, त्यसको सुन्दरतालाई बढाउन सरसफाइमा पनि त्यति नै ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘रानीपोखरीलाई सुन्दर बनाउन पोखरीको पानीलाई अक्सिडाइज गर्न फाउन्टेन चलाउन सकिन्छ। जसरी स्विमिङ पुल सफा गरिन्छ त्यसरी गर्न सकिन्छ। तर सम्पदाविदहरुले सम्पदा मास्न पाँइदैन भनिरहेका छन्। तर त्यसले रानीपोखरीको मौलिकतामा कुनै आँच आउदैन।’ उनका अनुसार रानीपोखरी सफा गर्ने काम २/३ वर्षमा एक पटक गर्नुपर्छ।
रानीपोखरीको सुन्दरतासँग पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि जोडिएको छ। मन्दिरले सुनमा सुगन्ध थप्ने काम गरेको छ। निर्माण सम्पन्न बालगोपालेश्वर मन्दिर फरक शैलीमा बनेको छ। मानन्धरले बालगोपालेश्वर मन्दिर मल्लकालीन शैलीमा निर्माण भएको बताए। ‘मल्लकालमा बनेको मन्दिर भने ग्रन्थकुट शैलीमा निर्माण भएको थियो’, उनले भने, ‘पछि राणाकालमा मन्दिरको स्वरुप परिवर्तन गरी गुम्बज शैलीमा बनाइएको थियो।’ उक्त मन्दिर २०७२ सालमा भूकम्प जाँदा गुम्बज शैलीको थियो।
रानीपोखरी र मन्दिर निर्माणका लागि करिब २५ करोड रुपैयाँ खर्च भएको उनले बताए। ‘९ करोड ५४ लाख पोखरी निर्माणका लागि बजेट हो भने मन्दिरका लागि १५ करोड’, उनले भने, ‘सबै मिलाएर करिब २५ करोड हो। २५ करोड रुपैयाँ नै खर्च भइसकेको छ। फाइनल हिसाब भने आउन बाँकी छ। फाइनल हिसाब आएपछि त्यो नै अन्तिम खर्च हुनेछ।’
मन्दिरमा गजुर राख्ने साइत बिहीबारको रहेको उनले जानकारी दिए। ‘गजुर राख्ने साइत भोलि भनिएको छ। तर कति बजे भन्ने जानकारी आएको छैन। अहिलेसम्म अन्यौलकै अवस्था छ’, मानन्धरले बुधबार देशसञ्चारसँग भने।
बालगोपालेश्वर मन्दिरमा राखिने गजुर ३२.७३ तोला सुनबाट बनेको र त्यसको तौल १२३ किलोको रहेको उनले बताए। हाल उक्त गजुर दरबाइ हाइस्कुलमा प्रहरीको निगरानीमा रहेको छ।
गजुर स्थापनापछि सम्भवतः विधिवत रुपमा रानीपोखरी महानगरपालिकालाई हस्तान्तरण गर्ने उनले जानकारी दिए। ‘महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेपछि महानगरले यसको सबै काम हेर्छ,’ उनले भने, ‘सुरक्षा, मर्मत सम्भार, व्यवस्थापन लगायतको जिम्मा उसले लिन्छ।’
मन्दिरको थप सुरक्षाका लागि मन्दिर वरपर सिसिटिभी क्यामेरा जडान गर्नुका साथै गार्ड परिचालन गर्ने योजना भएको उनले बताए। उनले गजुर स्थापनापछि रानीपोखरी पूर्ण रुपमा सम्पन्न हुने बताए।
रानीपोखरी निर्माणका लागि पञ्चवर्षीय योजना भए पनि कोरोना भाइरसले केही प्रभावित पारेको उनको भनाइ छ। विरोधै–विरोध खेपेर बनेको रानीपोखरीको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले १८ औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते गरेकी थिइन्।