
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन सोमबार राती विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंगलोर र श्रेयस अय्यर कप्तान रहेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ।
दुबई क्रिकेट मैदानमा हुने खेलमा जित हात पार्ने टोली अंक तालिकाको शीर्षस्थानमा पुग्ने छ। दुवै टोलीको चार खेलबाट ६ अंक छ। पाँच खेलबाट ६ अंक भएको मुम्बई इन्डियन्स नेटरनरेटका आधारमा शीर्षस्थानमा छ।
आईपीएलको यो सिजन दुबईमा भएका खेलमा पहिला ब्याटिङ गर्ने टोलीले हारेका छैनन्। संयोग के छ भने दिल्ली र बैंगलोरले पनि यो सिजन पहिला ब्याटिङ गरेका खेलमा हार ब्यहोरेका छैनन्। दिल्लीले तीनवटै खेल पहिला ब्याटिङ गरेर जितेको थियो भने बैंगलोरले दुईवटा खेल पहिला ब्याटिङ गरेर जितेको थियो।
अघिल्लो खेल दुवै टोलीले जितेका थिए। दिल्लीले कोलकाता नाइट राइडर्सलाई हराएको थियो भने बैंगलोरले राजस्थान रोयल्सविरुद्ध जित हात पारेको थियो। दिल्लीले कोलकाताविरुद्ध २ सय २८ रन बनाएको थियो।
यो सिजन दिल्लीका पृथ्वी श, शिखर धवन, श्रेयस अय्यरलगायत ब्याट्सम्यान उच्च लयमा छन्। बैंगलोरका देवदुत पडिक्कल, आरोन फिन्च, विराट कोहली, एबी डे भिलियर्सलगायत ब्याट्सम्यानको दबाब दिल्लीलाई हुने छ।
दिल्लीमा रहेका नेपालका सन्दीप लामिछानेले यो सिजन खेल्ने अवसर पाएका छैनन्।