
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन बुधबार कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रनले हराएको छ। एक सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५७ रनमात्र जोड्न सक्यो।
चेन्नईलाई अन्तिम ४ ओभरमा ४४ रन चाहिएको थियो। कप्तान महेन्द्रसिंह धोनी र टम कुरान ब्याटिङमा थिए। ११ रनमा खेलिरहेका धोनी १७ औँ ओभरको तेस्रो बलमा आउट भए। त्यस ओभरमा चेन्नईले पाँच रन मात्र जोड्न सक्यो। १८ औँ ओभरको पहिलो बलमा कुरान आउट भए। आन्द्रे रस्सेलले बलिङ गरेको त्यस ओभरमा चेन्नईले ३ रन मात्र थप्न सक्यो। १९ औँ ओभरमा १० रन जोडेपछि चेन्नईलाई अन्तिम ओभरमा २६ रन चाहिएको थियो।
चेन्नईको पालीमा सेन वाट्सनले ५०, फाप डु प्लेसिसले १७ र अम्बाती रायूडुले ३० रन बनाए। १२ ओभरमा २ विकेट गुमाएर ९९ रन जोडेको चेन्नई एकाएक दबाबमा आएको थियो। त्यसअघि कोलकाताको पालीमा राहुल त्रिपाटीले ८१ तथा सुनिल नारायन र प्याट कुमिन्सले १७/१७ रन बनाए।
कोलकाताले पाँच खेलबाट ६ अंक जोडेको छ। चेन्नईको ६ खेलबाट ४ अंक छ।