
झापा – नेपाल-भारतबीचका नाका बन्द भएका बेला पनि पटाकाको अवैध कारोबार फस्टाउन थालेको छ।
विगत केही दिनको अविधमा ठूलो परिणाममा झापाका सीमा नाकामा प्रहरीले पटाका बरामद गरेपछि यो तथ्य बाहिर आएको हो।
कोरोना भाइरसको संक्रमणले मानिसलाई आक्रान्त बनाइरहेका बेला चोरी बाटो हुँदै पटाका पैठारी गर्ने धन्दा सीमा नाकामा मौलाउँदै गएको छ।
शनिबार झापाको गौरादह नगरपालिका ९ मा भारतबाट ल्याउँदै गरेको अवस्थामा चकलेट बम पटाका ६० बट्टा र नागिन पटाका १५ बन्डल प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरीको टोली उक्त परिमाणको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
चाडबाडलाई लक्षित गरि अवैध रुपमा भारतबाट पटका भित्रिन सुरु भइसकेको छ।
गत शुक्रबार राति भद्रपुर नगरपालिका ३ स्थित महेशपुर नाकाबाट पटाकासहित एक जना अटो चालक पक्राउ परेका थिए।
पक्राउ पर्नेमा भद्रपुर ४ बस्ने ४२ वर्षीय ढाक्रे राजवंशी रहेका छन्।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार बेलुका ७ बजे मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो।
अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अटो भित्र लोड गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बन्डल खुर्सानी पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बरामद गरिएको पटाकाका मूल्य एक लाख बढी हो। बरामद गरिएको पटाका र अटोसहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।