
सिमकोट- नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीले छिमेकी चीनले सीमा क्षेत्रमा विस्तारवाद लागू गरेको आरोप लगाएका छन्।
चीनसँगको सीमा क्षेत्रमा रहेका पीलरहरुको स्थलगत अवस्थाको अवलोकन गरेर सदरमुकाम सिमकोट फर्केपछि नेता शाहीले यस्तो आरोप लगाएका हुन।
उनले नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै भने, ‘एउटा असल छिमेकीको रुपमा चीनलाई हेरिएको भएपनि सीमाको स्थलगत अवलोकन गर्दाको अवस्थालाई हेर्दा चीनले नेपाल माथि विस्तारवाद लागू गरेको छ। ‘
पूर्वमन्त्री समेत रहेका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको आरोप लगाए। उनले भने, ‘लाप्चामा रहेको १२ नम्बर पिलर नयाँ निर्माण गरेको, ९ नम्बर पिलरलाई मध्य बनाएर आफ्नो घरवारमा पारेको, ७ (२) नम्बर पिलर कता छ पत्ता लगाउने अबस्था नभएको, ६ ( १) नम्बर पिलरलाई आफ्नो घेरवारमा पारेको प्रत्यक्ष अबलोकनका क्रममा भेटियो। यसले चीनको नेपालप्रति विस्तारवाद लाद्ने नीति हो।’
कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले सिमा क्षेत्र हिल्सामा रहदै आएका नेपाली सुरक्षाकर्मीहरुलाई पिलरहरुको अनुगमन गर्न जानेक्रममा ढुङ्गाले हानेर अभद्र व्यवहार प्रस्तुत गरेर आफू शक्तिशाली भएको अहंकार चीनले प्रस्तुत गरेको आरोप लगाए।
पिलरको अनुगमन गर्ने क्रममा आफू हिल्सामा रहँदा चिनियाँ सेना तीन घण्टा चिनियाँ सीमा क्षेत्रमा आएर बसेको समेत उनले बताए। अर्काको भूमि नचाहिने र आफ्नो भूमि एक भित्ता पनि कसैलाई छोड्न नहुने बताउने नेता शाहीले चिनियाँ पक्षसँग नेपाल सरकार लम्पस्सार परेको आरोप लगाए।
यस्तै अर्को नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा चिनियाले घर बनाए पनि ती घरहरु नेपाली भू-भागमै पर्ने दावी गर्दै सरकारले दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा त्यसको अध्ययन गर्न समेत माग गरेका छन्।
अहिले सीमा क्षेत्रमा रहेका पिलरको अवलोकन गर्दा चीनले औँला मागेर हत्केला निल्ने नीति अबलम्बन गरेको पाइएको उनको आरोप छ। उनले पहिले पिलरलाई घेरबार गर्ने पछि नेपाली पक्षको उपस्थिति नहुने देखिएपछि त्यसलाई आफुखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष रहेको पाइएको बताए।
सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न समेत चीनले धम्की दिने गरेको पाइएको उनले बताए। आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीलाई पनि जानकारी गराउने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गर्ने तयारीमा नेता शाही रहेका छन्।
अहिले चीनले मिचेको सिमाका सम्बन्धमा नेपालमा राजनीति दल भन्दामाथि उठेर राष्ट्रियताको पक्षमा बुलन्द आवाज उठाउने बेला आएको उनको निष्कर्ष छ।
उत्तर र दक्षिण समान मित्र भएको बताउँदै उनले अन्याय गर्ने जो कोहीका विरुद्ध लाग्न कसैले डर त्रास मान्न नहुने बताए। देश नै नरहे कोही पनि नरहने स्पष्ट पार्दै नेता शाहीले यो आवाजलाई सधैँ उठाइ रहने प्रतिबद्धता जनाएका छन्।