
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारीविरुद्ध हर्ड इम्युनिटी (सामूहिक प्रतिरक्षा) को अवधारणालाई खारेज गरेका छन् ।
समुदायको ठूलो हिस्साका बासिन्दा खोप मार्फत वा रोग बिस्तारित रुपमा फैलिएपछि संक्रामक रोगविरुद्ध इम्यून (प्रतिरोधात्मक क्षमता युक्त) बन्ने अवधारणा हर्ड इम्युनिटी हो ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका सम्बन्धमा यसको विकल्पका रुपमा केहीले हर्ड इम्युनिटीको कुरा गरिरहेका बेला डब्लुएचओले खारेज गरेको हो ।
खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनु पर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमता युक्त बन्ने केहीले तर्क गर्ने गरेका छन् ।
तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले त्यस्तो कुनै पनि कुरा हुन सक्ने र सो कुरा वैज्ञानिक तथा नैतिक रुपमा समस्याग्रस्त रहेको बताएका छन् ।
विश्वभर अहिलेसम्म तीन करोड ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोभिड–१९ का कारण विश्वमा १० लाख ८० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन् । अहिले विश्वभर कोभिड–१९ का १०० भन्दा बढी खोप विकासको क्रममा रहेको र त्यसमध्ये धेरै मानवीय परीक्षणको विभिन्न चरणमा भएको डब्लुएचओले जनाएको छ ।
तर अहिलेसम्म कुनै पनि खोपले स्वीकृति पाएका छैनन्, अर्थात मानवीय परीक्षण पूरा भएको छैन । परीक्षण पूरा भएपछि खोप प्रभावकारी र सुरक्षित देखिएमा मात्रै सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिइन्छ ।
सोमबार पत्रकार सम्मेलनमा बोल्ने क्रममा डब्लुएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको लामो समयसम्म पर्ने प्रभाव तथा इम्यून रेस्पोन्सकाे प्रभावकारिता र समयावधीबारे केही थाहा नभएको बताए ।
उनले भने, ‘हर्ड इम्युनिटी मानिसहरुलाई भाइरसबाट जोगाएर प्राप्त हुन्छ, उनीहरुलाई भाइरसको संक्रमण हुन दिएर होइन ।’
उनले अघि भनेका छन्, ‘सार्वजनिक स्वास्थ्यमा इतिहासको कुनै पनि समयमा हर्ड इम्युनिटीलाई रणनीतिका संक्रमणविरुद्ध प्रयोग गरिएको छैन । संक्रमणलाई रणनीतिकै रुपमा महामारी बन्न दिइएको छैन ।’
भाइरसलाई त्यसै फैलिन दिनुको अर्थ मानिसहरुलाई संक्रमित हुन, समस्या पर्न र मर्न दिनु रहेको उनले बताए।