
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले काठमाडौँ उपत्यकाका अस्पतालहरुमा बेड र आईसीयु पाउन कठिन भएको भन्दै आफ्नो स्वास्थ्यको ख्याल आफै गर्न आग्रह गरेको छ।
मन्त्रालयको नियमित व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले काठमाडौँ उपत्यकाका अस्पतालका बेडहरु पनि खचाखच भरिएको र आईसीयु पाउन कठिन भएको भन्दै यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको आफै ख्याल गनुपर्ने बताए।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का बिरामीहरुको उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कोभिड–१९ को लक्षण देखापरेमा वा कोभिड–१९ पोजेटिभ देखिएमा मात्र क्वारेन्टिन वा आइसोलेशनमा बस्ने व्यवस्था गर्नुपर्ने र अरुबेलामा काममा लगाउनु पर्ने जनाएको छ।
यस्तै डा. गौतमले कोभिड १९ को कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेमडिसिभर नामक औषधि प्रयोगमा ल्याएको जानकारी दिए।
उनले भने, ‘उक्त औषधि कोभिड–१९ उपचार गर्ने अस्पतालहरुले विरामीहरुका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्यवस्था विभागबाट आयात तथा विक्रि वितरण, अनुमति प्राप्त आयातकर्ता, फार्मेसीहरुबाट सम्बन्धित व्यक्तिहरुले सहज रुपमा खरिद गरी प्रयोग गर्न सकिनेछ।’
यस्तै मन्त्रालयले ६० वर्षभन्दा माथिका नागरिक, गर्भवती महिला, बालबालिका, डाइबिटिज, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलाका बिरामी लगायत अन्य विरामीहरुको हकमा काठमाडौँ उपत्यका लगायत घना वस्तीहरु भएका ठाउँमा अहिले संक्रमणको दर बढ्दै गएकाले घरबाट बाहिर ननिस्कन र घरका मानिसहरु पनि उक्त व्यक्तिहरुको सम्पर्कमा नआउने गरी मिलेर बस्न आग्रह गरेको छ।