
दाङ – गाउँको कच्ची बाटो । असिन पसिन हुँदै भुपबहादुरले काँधमा भट्टा बनाएर लोकल कुखुराको भारी बोकेका छन् । उनले यो भालेको भारी बजार गएर बिसाउने छन् जहाँ दसैँको लागि भाले पर्खिरहेका व्यवसायीलाई बेच्ने छन् ।
वडा दसैँ सुरु भएको छ । दसैँ नेपालीको ठूलो चाड भएकाले यसलाई सबैले रमाइलाेको साथ मनाउने गर्छन् । दसैँको लागि खर्चपर्च जुटाउनु समेत पर्छ ।
दसैँलाई खर्च जुटाउन घोराही उपमहानगरपालिका वडा नं. ३ का भुपबहादुर पुनले गाउँभरीका कुखुराको भाले खरिद गरेर बिक्रीको लागि बजार सम्म पुर्याउने काम गर्छन् ।
घटस्थापनाको अघिल्लो दिन १४ ओटा भालेको भारी बोकेर उनी लमही आउँदै थिए । ‘दसैँ लाग्यो । खर्चपर्च चाहियो । पूजा आजालाई पनि भाले चढ्छ । बेच्न हिँडेको हजुर’ पुनले भने, ‘गाउँमा भालेको रेट महंगो छ । ६५० रुपैयाँ किलो किनेर ल्याएँ ।’
१९ हजार रुपैयाँमा भाले खरिद गरेर बजार पसेको उनले सुनाए ।
‘काम धन्दा अरु केही मिल्दैन । गाउँमा भाले खोज्यो अनि बजारसम्म पुर्यायो । कहिले यही काममा घाटा लागिहाल्छ । कहिले नाफा पनि हुन्छ’उनले सुनाए,‘लोकल कुखुराको मासु धेरैले रुचाउने भएकाले भाले खोज्नेहरु धेरै हुन्छन् ।’
लोकल भालेको मासु पाइने होटल तथा रेष्टुरा लगायत व्यक्तिगत रुपमा भाले किन्ने ग्रहाक सजिलै भेटिने गर्छन् ।
‘भाले हुनुपर्यो । बजारको चिन्ता छैन’, उनले भने,‘गाउँ घरमा चरेको भालेको मासुको स्वाद बेग्लै हुन्छ । मान्छेले खोजी खोजी लग्छन्।’
पछिल्लो समय लोकल कुखुराको व्यवसायीक पालन समेत गरिएको छ ।
चाडपर्वमा खसी, कुखुराको मासु धेरै बिक्री हुने गर्छ । कोरोना भाइरसको संक्रमण फैलिएकाले चाडपर्वलाई तडकभडक नगरेर मनाउन सरकारले अनुरोध गरेको छ । गाउँघर तिर चाडपर्व मनाउने जोहो गर्न थालिएको छ ।