
विराटनगर – धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. आषिश श्रेष्ठका अनुसार सुनसरी र झापाका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
दुवै जनाको मृत्यु बिहीबार राती ७ बजेर १५ मिनेटमा भएको सहप्रवक्ता डा. श्रेष्ठले जानकरी दिए। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा झापा शिवगढी ११ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको उनले बताए।
नशा सम्बन्धी र मांसपेशीमा समस्या देखिएका बिरामीलाई असोज २९ गते कोरोना भाइरस कोभिड १९ पोजिटिभ पुष्टि भएको उनले बताए।
प्रतिष्ठानको कोभिड १९ अस्पतालमा ३० गते भर्ना गरिएका बिरामीको स्वास्थ्य अवस्था गम्भीर बनेर उपचार भइरहँदा बिहीबार राती मृत्यु भएको हो । त्यसैगरि, धरान उपमहानगरपालिका १५ का ६५ वर्षीय पुरुषको पनि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
असोज २८ गते पिसिआर रिपोर्ट पोजिटिम पुष्टि भएका बिरामीमा पेट सम्बन्धी पुरानो समस्या देखिएको डा. श्रेष्ठले बताए। बिरामीलाई कोरोना पुष्टिभएसँगै प्रतिष्ठानबाट असोज २९ गते कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।
वीपीमा हालसम्म प्रदेश १ का विभिन्न स्थान र प्रदेश १ बाहिरबाट उपचारका लागि पुगेका ६३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।