
लिमी – हिमालपारीको गाउँ लिमीका तीन वटै गाउँमा मानिसको उमेर ६० वर्ष कटेपछि सार्वजनिक काममा रोक लगाउने गरिएको छ।
गाउँको नियम अनुसार सार्वजनिक काम गर्न नसक्ने भन्दै ६० वर्ष कटेका नागरिकलाई काममा रोक लगाउने गरिएको हो।
५९ वर्ष उमेर पुगेका नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीको हल्जी गाउँमा बृद्ध कोन्क्याप मुटुप तामाङलाई एक वर्षपछि सार्वजनिक काम गर्न नपाइने भएपछि चिन्ता सुरु भएको छ।
काम गर्न सक्ने जाँगर भए पनि गाउँको नियमले काम गर्न दिने अवस्था नरहेको उनले बताए।
आफ्नो घरको काम बाहेक तामाङले एक वर्षपछि अन्य सार्वजनिक रुपमा गरिने कुनै पनि काम गर्न पाउने छैनन्। त्यसपछि घरमै सीमित हुनु पर्ने भएपछि उनमा चिन्ता थपिएको हो।
तील गाउँकी ६० वर्षकी छिरिङपुटी तामाङले सार्वजनिक काम गर्न छाडेकि छिन्। काम गर्न सकिने भएपनि गाउँको कडा नियमका अगाडि आफ्नो केही नचलेको उनले बताइन्।
६० वर्ष माथिका नागरिकहरुको दिनचर्या घरको चुलो चौको र पशुबस्तुका स्याहारमा बित्ने गरेको छ।
वडाध्यक्ष पाल्जोर तामाङले शारीरिक रुपमा कमजोर हुने भएपछि ६० वर्ष माथिका नागरिकलाई सार्वजनिक काममा रोक लगाइएको बताए।
ज्येष्ठ नागरिकको सम्मानका लागि यस्तो नियम बनाइएको उनले बताए।
लिमीका तीन वटा गाउँ तील, हल्जी र जाँङमा यो नियम लागु छ ।