
जनकपुरधाम– प्रदेश २ मा थप २ सय २७ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ४७ पुगेको स्थास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।
बर्दिबास प्रयोगशाला महोत्तरी, गौर अस्पताल रौतहट, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६६ महिलासहित २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार महोत्तरीमा १ सय २५, पर्सामा २२, धनुषामा १८, सर्लाहीमा १२, बारामा १२, रौतहटमा १०, सप्तरीमा १०, सिरहामा ७ र अन्य प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाबाट यस प्रदेशमा हालसम्म सबैभन्दा बढी पर्सामा संक्रमित भएका छन्। पर्सामा २ हजार ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै धनुषामा २ हजार १ सय ९, रौतहटमा २ हजार २३, सर्लाहीमा १ हजार ९ सय ५५, महोत्तरीमा १ हजार ६ सय २६, सप्तरीमा १ हजार ४ सय ५९, बारामा १ हजार ४ सय २० र सिरहामा १ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै शनिबार प्रदेश २ मा २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १२ हजार ७ सय ९४ पुगेको छ। आज सप्तरीमा ११, धनुषामा ६ र सिरहामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ। आज सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ३ घर भइ भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
हाल यस प्रदेशमा १ हजार ८ सय ९३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।