
सिमकोट -उत्तरी हुम्लाको एक विद्यालयमा सार्वजनिक विदामा पनि पठन पाठन हुने गरेको छ।
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमी हल्जी गाउँको सुनखानी प्राथमिक विद्यालयमा सार्वजनिक विदामा पढाइ हुने गरेको हो।
विद्यालयमा व्यवस्थापन समितिको निर्णय भन्दा पनि गाउँको सामूहिक निर्णय कार्यान्वयन हुने गरेको छ।
मुस्किलले तीन महिना पढाइ हुने लिमीका विद्यालयमा अहिले यो नियम लागू भएपछि ११ महिना पढाइ हुने गरेको छ।
शनिबारबाहेक अन्य सार्वजनिक विदामा समेत पढाइ हुने गरेको छ । अन्य सार्वजनिक विदा कहिले पर्छन्, त्यो पनि पत्तो हुने गरेको छैन।
गाउँको निर्णयबाटै विद्यार्थीको पठन पाठनलाई सुधार गर्न यस्तो गरिएको हो । लिमीको एक मात्र वाली उवा काट्ने बेला भने विद्यार्थीलाई सार्वजनिक विदा दिइन्छ। ८७ घरधुरी रहेको हल्जी गाउँमा बढी विद्यार्थी भएको विद्यालय सुनखानी प्रावि हो।
नर्सरी देखि कक्षा ६ सम्म पठन पाठन हुने विद्यालयमा ५३ जना विद्यार्थी छन्। अग्रेजी माध्यामबाट पढाइ हुने उक्त विद्यालयमा यसरी परिवर्तन गर्न गाउँको बिहानी खाना विद्यालयमा खाने ब्यबस्थाले महत्वपुर्ण भूमिका खेलेको निजी श्रोतका शिक्षक सोनाम नोर्वु तामाङले बताए।
काठमाडौं र भारतमा अध्ययन गरेका तीन जना युवाहरुले विद्यालयको जिम्मेवारी लिएका छन्। विद्यार्थीमा अग्रेजी, तिब्बेटियन भाषा सहज भएपनि नेपाली भाषा भने कमजोर रहेको छ।
लिमीको उक्त विद्यालयमा अमेरिकी नागरिक माईकलले आर्थिक सहयोग गरेर तीन जना स्थानीयलाई शिक्षकको रुपमा व्यवस्था गरिएको छ।
पाँच वर्षका लागि तीनै जना शिक्षकको पारिश्रमिकको जिम्मा माईकलले लिएका छन्। उकालो स्थानमा विद्यालय भयो भनेरै अब सम्म स्थानमा नयाँ विद्यालय भवन बन्ने तयारी भइरहेको छ ।